स्वरोजगारका नाममा मनपरी अटो चलाउन छुट दिँदा दुर्घटना बढ्दै
मकवानपुर । पछिल्लो समय अटो दुर्घटना बढ्न थालेको छ । सोमबार विहान मकवानपुरको हेटौंडामा अटो दुर्घटनामा परी ६ जना घाइते भए। हेटौंडा ५ माछाप्लान नजिकै मोटरसाइकल र अटो आपसमा ठोक्किएका हुन् । विशेषगरी अटोको गति तिब्र हुने कारण दुर्घटना बढ्न थालेकोमा चिन्ता बढेको छ ।
हेटौंडा बजारबाट क्याम्पाडाँडतर्फ जादै गरेको ना १ ह ६६५७ नम्बरको अटो र सोही दिसाबाट आउदै गरेको ना ७ प ६१९४ नम्बरको मोटरसाइकल ओभरटेक गर्ने क्रममा अटोसंग ठोक्किएको वडा प्रहरी कार्यालय हेटौडाका प्रहरी निरीक्षक ईश्वरी प्रसाद भण्डारीले जानकारी दिए ।
दुर्घटनामा परी घाइते हुनेमा अटो चालक हेटौंडा ५ का धुव्र मैनाली, अटोमा सवार ६५ वर्षिय मोहनलाल मानन्धर, ४० वर्षियाा कल्पना मानन्धर, ५५ वर्षिया मायादेवी मानन्धर र मोटरसाइकल चालक हेटौंडा ७ का विश्वास तितुङ र मोटरसाइकलमा सवार मणिराज तामाङ घाइते भएका हुन् ।
दुर्घटनामा परी घाइते भएका सबैको हेटौंडाको अस्पतालमा उपचार भइरहेको छ । केही दिनअघि मकवानपुरको बागमती बागमती गाउँपालिकामा तिब्र गतिमा गुडेका अटो दुर्घटनामा पर्दा एक जनाको ज्यान गएको थियो ।
स्वरोजगार हुने नाममा जथाभावि अटो चलाउने क्रम बढेकाले हेटौंडामा ट्राफीक समस्याका साथै दुर्घटना समेत बढ्न थालेपनि नियमन तथा कारवाही गर्ने निकाय भने बेखबर बनेको सर्वसाधारणको गुनासो छ ।