टीसीएनरोडबासी आन्दोलित बन्नुको अन्तर्कथा

लोकखबर
२७ मंसिर २०७६, शुक्रबार १२:४२

मकवानपुर । हेटौंडा १० टीसीएन रोडमा निर्माण कार्य अलपत्र पारिएको विषयमा हेटौंडा उपमहानगरपालिकाका प्रमुखसंग बसेर समाधान गर्ने सहमती भएपछि अवरुद्द सडक खुलाउन स्थानीयबासी राजी भएका छन् ।

खाल्डाखुल्डी भएको र बाटो साघुरो भएको अवस्थामा निर्माण भइरहेको सडकको निर्माण कार्य रोकिएपछि आफूहरु समस्यामा परेको भन्दै आज शुक्रबार विहान ८ बजेदेखि स्थानीयबासीले सडकमा सवारी संचालनमा रोक लगाएका थिए । हेटौंडा उपमहानगरपालिका प्रमुखसंग बसेर छलफल गर्ने र भारी मालवाहक बाहेक अन्य सवारी चल्न दिने सहमति जुटेपछि अवरुद्द सडक स्थानीयबासीले खुलाएका हुन् ।

आफूहरुको समस्या समाधान नभएसम्मका लागि सडक नखोल्ने चेतावनी दिदै टीसीएनरोडका स्थानीय संघर्षमा उत्रिएका थिए । निर्माण भइरहेको सडकको निर्माण कार्य रोकिएका कारण सडकमा असुरक्षा बढेकाले सवारी साधन संचालनमा रोक लगाउदै स्थानीय संघर्षमा उत्रिएका हुन् । हेटौंडा उपमहानगरपालिका र संघीय सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको सहयोगमा आर्थिक सहयोगमा सडक निर्माणको ठेक्का पाएको रोजन निर्माण सेवाले बिचमै छाडेर बेखबर भएपछि सडक निर्माण कार्य अहिले अलपत्र अवस्थामा छ ।

सडक निर्माणका लागि ८१ लाख २५ हजार छसय ७ रुपैयाँमा गत जेठ १६ गते सम्झौता भई एक करोड २४ लाख रुपैयाँको ठेक्का घटाघटमा रोजनले ८१ लाख रुपैयाँमै ठेक्का पाएर काम अघि बढेको थियो । अनुमानित लागत भन्दा निकै कम मूल्यमा ठेक्का पाएको रोजन बिचमै काम छाडेर बेखबर बनेपछि स्थानीयबासी आक्रोशित बनेका छन् । काम गर्ने समय असार मसान्तभित्रै सकिएको थियो । रोजनले गुणस्तरीय निर्माण नगरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीमाथि कारवाही प्रकृया अघि बढाउनु परेपछि सडक निर्माणको कार्य रोकिएको हेटौंडा उपमहानगरपालिकाले जनाएको छ । सडक निर्माण गरिरहेको रोजन निर्माणले १७ लाख ६२ हजार रुपैयाँ भुक्तानी लगिसकेको छ ।

अख्तियारमा पुगेको मुद्दा छिनोफानो नहुन्जेलसम्म सडक निर्माण कार्य अघि बढाउन नसकिएको उपमहानगरपालिकाको भनाई छ । निर्माण कम्पनि सम्पर्क विहीन बनेपछि गत चार महिनादेखि टीसीएनरोडको फुटपाथ तथा ढल निर्माणको काम अलपत्र बनेको हो । निर्माण भइरहेको सडकको निर्माण कार्य बिचमै छाड्दा धुलो उड्ने, सडकका ढुंगा उछिट्टिएर पेटीमा हिड्न समेत समस्या परेकाले आफूहरु संघर्षमा उत्रिनु परेको स्थानीय व्यवसायी लालकाजी बज्रचार्यले बताए । उनका अनुसार निर्माण कार्य बिचमै रोकिदा सडकको पेटीमा हिड्ने पैदलयात्रुलाई असुरक्षा भएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*