मकवानपुर लगायत देशका विभिन्न भागमा वर्षा

मकवानपुर । मकवानपुरको हेटौंडा लगायत देशका विभिन्न भागमा आज पानी परेको छ । पश्चिमी वायुका कारण हिउँदे झरी र हिमपात हुने गर्छ । सोही कारण आज विहानैबाट चिसो बढेको छ । अफगानिस्तान र इरानमा बन्ने न्यूनचापीय वायु सुदुरपश्चिमबाट प्रवेश गरेपछि नेपालमा हिउँदे झरी र हिमपात पर्ने गर्छ । बर्खेझरी भने बंगालको खाडीमा बन्ने मनसुनी वायु फैलिएपछि पूर्वी क्षेत्रबाट शुरु हुने गर्छ ।
देशभर पानी तथा हिमपात पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले अनुमान गरेको छ । यतिखेर पहाडी क्षेत्रमा समेत पानी परिरहेको छ भने उच्च पहाडी र हिमाली क्षेत्रमा हिउँ परिरहेको छ । देशको पश्चिमी भेगमा नै पश्चिमबाट भित्रिएको मौसम प्रणालीको बढी असर देखिएको छ।
मौसम बदलीकै कारण आज पश्चिम क्षेत्रमा हावाहुरी चल्ने महाशाखाले जनाएको छ । मौसम बदलीको प्रभाव आइतबारसम्म कायम रहने महाशाखाले निकालेको मौसम बुलेटिनमा उल्लेख छ ।