वंशगोपाल माविका पूर्व विद्यार्थी विद्यालयको शैक्षिक विकास अभियानमा
मकवानपुर । बंशगोपाल माध्यामिक विद्यालय हेटौंडा ६, चौघडाले नव निर्वाचित पूर्व विद्यार्थी संगठनलाई स्वागत एवम् सम्मान गरेको छ ।
आज विद्यालयमा आयोजित कार्यक्रममा विद्यालयका प्रचार्य रमेशप्रसाद लामिछाने, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्यामप्रसाद श्रेष्ठ, शिक्षक अभिभावक संघका अध्यक्ष शिवदयाल यादवले नव निर्वाचित पूर्व विद्यार्थी संगठनका कार्य समितिलाई माला तथा टिका लगाई स्वागत एवम् सम्मान गरेका हुन् ।
स्वागत तथा सम्मान पश्चात विद्यालय व्यवस्थापन समिति र पूर्व विद्यार्थी संगठनको बसेको सयुंक्त बैठकले यातायात र सडक सुरक्षालाई मध्यनजर गर्दै विद्यालयमा अध्ययन गर्न आउँने विद्यार्थीहरुका लागि बससेवा अति आवश्यक महसुस रहेको जनाउँदै बस खरिद अभियानलाई अगाडी बढाउने निर्णय गरेको छ ।
यस कार्यमा सरिक हुन सम्पूर्ण अभिभावक, पूर्व विद्यार्थीहरु, शिक्षक शिक्षिका एवम् शुभचिन्तकहरुमा आर्थिक सहयोग गर्न आग्रह गर्ने समेत निर्णय गरेको छ । अभियानमा सरिक हुने व्यक्तिमध्ये पाँच हजार देखि २० हजार रुपैया सम्म सहयोग गर्ने दातालाई स्थानीय पत्रपत्रिकामा फोटो राखेर धन्यवाद ज्ञापन गरिने, २० हजार देखि ५० हजार रुपैया सहयोग गर्नेलाई दुई पुस्ते नामावली सहित दाताको फोटो राखेर धन्यवाद ज्ञापन गरिने, ५० हजार देखि एक लाख रुपैया सहयोग गर्नेलाई तीन पुस्ते दाताको नाम सहित दातालाई पत्रपत्रिकामा धन्यवाद ज्ञापन गर्ने, एक लाख रुपैया देखि माथि सहयोग गर्नेलाई पत्रपत्रिकामा विशेष धन्यवाद प्रकाशन गर्दै बसमा दाताको नाम लेखिने निर्णय गरिएको पूर्व विद्यार्थी संगठनका महासचिव मणिराज गौतमले जानकारी दिए ।
साथै, दाताहरुको अभिलेख विद्यालयमा राखिनुका साथै अभिभावक भेलामा दाताहरुलाई सम्मानपत्र प्रदान गरिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्यामप्रसाद श्रेष्ठले बताए । यस्तै, स्वागत सम्मान कार्यक्रममा विद्यालयका प्रचार्य रमेशप्रसाद लामिछानेले पूर्व विद्यार्थी संगठनको सक्रियतामा विद्यालयमा बस खरिद अभियान सफल हुने बताउँदै आफूहरुले विद्यालयको शैक्षिक स्तर सुधारका लागि कुनै कसर बाँकी नराख्ने बताए । विद्यालयको पूर्व विद्यार्थी संगठनको नयाँ कार्य समिती गएको मंशिर १४ गते चयन भएको थियो । आफूहरुलाई स्वागत-सम्मान गरेर पराम्परागत परिपाटी विद्यालयले सुभारम्भ गरेकोमा धन्यवाद ज्ञापन गर्दै पूर्व विद्यार्थी संगठनका अध्यक्ष शालिकराम घिमीरेले बस खरिद अभियान र शैक्षिकस्तर सुधारका लागि पूर्व विद्यार्थी संगठनले भूमिका खेल्न आफूहरुको अपेक्षा रहेको बताए ।












































