‘दोस्रो हेटौंडा बालकला साहित्य महोत्सव २०७६’ को तयारी


नवोदय शिशु सदन विद्यालय
मकवानपुर । मकवानपुरको हेटौंडामा ‘दोस्रो हेटौंडा बालकला साहित्य महोत्सव २०७६’ हुने भएको छ ।
नवोदय शिशु सदन हेटौंडाको आयोजनामा हेटौंडा उपमहानगरपालिका, काठमाडौं पब्लिकेशन, बालकला सङ्ग्राहलय, सर्जक संजाल मकवानपुर, नेपाल बालसाहित्य समाजको सहकार्यमा दोस्रो महोत्सव गर्न थालेको हो ।
नवोदय शिशु सदन विद्यालयको प्रांगणमा यही पौष २५ र २६ गते महोत्सव हुने आज आयोजित पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक सीएम रिमालले जानकारी दिए ।
महोत्सवले सिर्जनात्मक पठन संस्कृति र कलाको विविध पक्षहरुको समिश्रित शिक्षण प्रविधि र प्रकृयाको विकास गराउँने आयोजकले अपेक्षा गरेको छ । साथै, महोत्सवबाट बालबालिकामा पहिचान सहितको आत्मर्निभरता, समय सापेक्षित विचार सहितको तार्किक क्षमता, मौलिक सिर्जनात्मकता तथा शैक्षिक क्षेत्रको आम विकासमा सहयोग पुग्ने आफूहरुले अपेक्षा गरेको विद्यालयका निर्देशक दिपेश जोशीले जानकारी दिए।
महोत्सवमा हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, साहित्यकार राधा पौडल, अमर न्यौपाने लगायतका श्रष्टाको मुख्य प्रस्तुती रहनेछ । महोत्सवमा बाल कला साहित्य सम्बन्धि सर्जकहरुका बिच सामुहिक छलफल, अबको शिक्षा कस्तो विषयक कार्यशाला, कथा लेखन तथा वाचन, कविता तथा मुक्तक, गजल लेखन, कला प्रदर्शनी, ब्लगिङ्, भित्तेचित्रकला लेखन, कलाकार तथा लेखक कार्यशाला, पुस्तकमा आधारित रहेका क्रियाकलाप, पुस्तक प्रदर्शनी, फेश पेन्टिङ, पुतली प्रदर्शनी, शिक्षक र अभिभावक बिच पढाई र बालकला साहित्य सम्बन्धि अन्तरक्रिया, संगीत साथै खानाका स्टलहरु पनि राख्ने आयोजकको तयारी छ ।
गत वर्ष महोत्सवमा ३ हजार ५ सय जनाको सहभागिता रहेको महोत्सवमा यो पटक करिब ६ हजार जना व्यक्तिको सहभागिता रहने अपेक्षा गरिएको छ । महोत्सव पूर्व पौष ११ गते थाहा नगरका करिब ११ सय विद्यार्थीलाई शिक्षक, विद्यार्थी तथा स्थानीय साहित्यकारबाट कार्यशाला गराईनेछ ।
महोत्सवकै अवसरमा नवोदय शिशु सदनका विद्यार्थीले रचना गरेको कविता संग्रह ‘फक्रँदो इन्द्रणी’ पनि विमोचन गरिने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।