आज सूर्यग्रहण लाग्दै

लोकखबर
१० पुष २०७६, बिहीबार ०६:५९

मकवानपुर । आज बिहीबार बिहान ८ः४२ बजेदेखि सूर्यग्रहण लाग्दै छ । सूर्यग्रहण विहान ८ः४२ बजेबाट सुरु भई बिहान ११ः३१ सम्म रहने नेपाल एष्ट्रोनोमिकल सोसाईटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए । उनका अनुसार ग्रहण जम्मा २ घण्टा ४९ मिनेटसम्म रहनेछ । ग्रहणको मध्य काल बिहान १० बजेर १ मिनेटमा रहेको छ, यस बेला सूर्यको करिब ४० प्रतिशतसम्म भाग ढाकिएको देख्न सकिन्छ ।
सोसाइटीले सूर्यग्रहणको अवलोकनको निःशुल्क व्यवस्था गरेको छ । आज विहान ८:३० देखि ११:४५ बजेसम्म सूर्यग्रहण हेर्न सकिने अध्यक्ष भट्टराईले बताए । वैज्ञानिक मूल्य र मान्यता अनुसार सुरक्षित तरिकाले सूर्यग्रहण हेर्दा कुनै किसिमको हानी नोक्सानी नहुने उनको भनाइ छ । यस्तै, विपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान संग्राहलय विकास समितिले पनि सूर्यग्रहणको अवलोकनका लागि व्यवस्था मिलाएको जनाएको छ ।
सूर्य र पृथ्वीको बीचमा चन्द्रमा आएर पृथ्वीमा पर्ने सूर्यको प्रकाशलाई पूर्ण वा आंशिक रूपमा छेकेमा अर्थात् चन्द्रमाको छाया पृथ्वीमा पर्न गएमा छाया परेको स्थानमा सूर्यग्रहण लाग्ने वैज्ञानिकको भनाइ छ । सूर्यग्रहण खग्रास, खण्डग्रास वा बलयाकारको हुन्छ । आज बलयाकार सूर्यग्रहण लाग्ने वैज्ञानिकले बताएका छन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*