सूर्यग्रहण खाली आँखाले हेर्दा आँखा गुम्ने

मकवानपुर । खगोलविद्हरुका अनुसार आजको सूर्यग्रहण एकदमै दुर्लभ खगोलिय घटना हो ।
सूर्य र पृथ्वीको बीचमा चन्द्रमा आउँदा चन्द्रमाले सूर्यबाट आएको प्रकाशलाई छेक्दा यसको छायाँ पृथ्वीमा पर्न गई सूर्य ग्रहण लाग्दछ ।
सूर्य ग्रहणलाई खाली आँखा, बाइनाकुलर वा टेलिस्कोपको प्रयोग गरेर हेर्न नहुने सुझाव छ । यसो गरेमा आँखा सदाका लागि बिग्रिने सम्भावना रहन्छ । साथै एक्स-रे प्लेट, ध्वाँसो लगाएको ऐना तथा पानीमा समेत सूर्यको प्रतिबिम्बलाई अवलोकन गर्न नहुने बताइएको छ ।
विशेष प्रकारको गाढा रंगको धातु लेपन भएको चश्माबाट मात्र सूर्यग्रहण अवलोकन गर्न सकिने भएपनि साधारण चश्माबाट यसको अवलोकन गर्न नहुने सुझाव छ ।
मानिसको आँखाभित्रको रेटिनामा सूर्यबाट आएको प्रकाश परेमा रेटिनाको एउटा भाग स्थायीरुपमा नै नष्ट हुन गई मानिस अन्धो समेत हुन सक्दछ । त्यसैले सूर्यग्रहणका वेलामा नांगो आखाले कदापि हेर्न हुँदैन ।
आज लाग्ने सूर्यग्रहण काठमाडौंमा विहान ८ :४३ मा शुरु भई ११ :३३ मा सकिनेछ । सुदूरपश्चिमको महेन्द्रनगरमा ८ : ३८ मा शुरु भई ११ : १९ मा सकिनेछ भने पूर्वको झापामा भने ८ : ४८ मा शुरु भई ११ : २७ मा सकिनेछ ।
करिब ६ वटा ग्रहहरु एकैस्थानमा रहेर लाग्ने ग्रहण हुनाले यसलाई विशेष रुपमा हेरिरहेको छ ।
ग्रहणको अबधि २ घण्टा ४९ मिनेटसम्म रहने जनाइएको छ ।