‘नेकपा निर्णयले मकवानपुरबासीमा खुशीको सन्चार’

मकवानपुर । मकवानपुरको हेटौंडालाई प्रदेश ३ को स्थायी राजधानी कायम गर्ने नेकपाको निर्णयको मकवानपुरका विभिन्न क्षेत्रबाट खुशी व्यक्त गर्दै स्वागत गरिएको छ । प्रदेश सरकार गठन भएको दुई वर्षपछि ढिलो भएपछि आफूहरुको चाहाना अनुसार नेकपाले निर्णय लिएको भन्दै विभिन्न क्षेत्रबाट स्वागत गरिएको हो ।
प्रदेश ३ का प्रमुख प्रतिपक्षी दलका नेता एवम् कांग्रेस मकवानपुरका सभापति इन्द्रबहादुर बानियाले हेटौंडालाई प्रदेश ३ को स्थायी राजधानी तोक्न नेकपाले निर्णय गर्नु खुशीको कुरा भएको भन्दै आफूले यो निर्णयको स्वागत गर्दै समर्थन गर्ने प्रतिकृया दिएका छन् ।
प्रदेश ३ का सांसद समेत रहेकी नेकपा मकवानपुरका अध्यक्ष मुनु सिग्देलले हिजो जनताका बिचमा हेटौंडालाई प्रदेशको स्थायी राजधानी कायम गराउँन गरिएको वाचा अब पूरा हुन लागेको बताएकी छिन् । ‘हामी सबै मकवानपुरबासीका लागि नेकपाको निर्णय खुशीको कुरा हो ।’ उनले भनिन्, ‘अब छिट्टै बस्ने प्रदेशसभाको बैठकबाट टुंगो लगाइनेछ । ’ मकवानपुरबासीका बिचमा गरिएको बाचाले सार्थकता पाउँन लागेकोमा नेकपाको निर्णयले समस्त मकवानपुरबासीमा खुशीको सन्चार भएको उनले बताइन् ।
हेटौंडालाई स्थायी राजधानी कायम गराउँनका लागि अभियान नै सन्चालन गर्दै आएको जनसरोकार केन्द्र मकवानपुरका संयोजक ध्रुवप्रसाद चौलागाईंले आफूहरुको अभियान सफल हुन थालेको प्रति खुशी व्यक्त गरे । आफूहरुले हेटौंडालाई विगतमा अस्थायी राजधानी तोक्ने बेलामै अस्थायी तोक्न दबाबमूलक अभियान चलाएको र अस्थायी तोकिएपछि अब स्थायी रुपमा हेटौंडालाई नै राजधानी कायम गरिनुपर्छ भन्दै विभिन्न चरणमा अभियान सन्चालन गरेको अभियन्ता चौलागाईंले प्रेस विज्ञप्ति मार्फत बताएका छन् । ‘ हामीले सन्चालन गरेको अभियानलाई ठीक भन्दै आज तीन नम्बर प्रदेशसभामा दुई तिहाई बहुमत भएको नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटी बैठकले हेटौंडालाई स्थायी राजधानी बनाउँने निर्णय गरेकोमा उक्त निर्णय संघीयताको पक्षमा, उपत्यकामा भएका सबै खाले चापलाई न्यूनिकरण गर्ने पक्षमा, विकेन्द्रिकरणको पक्षमा भएकाले हामीहरु स्वागत गर्दछौं । ’ अभियन्ता चौलागाईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा हेटौंडालाई चौलागाईंले प्रदेश ३ को स्थायी राजधानी कायम गर्ने निर्णय तुरुन्तै प्रदेशसभाको बैठक बसी संविधान र कानून बमोजिम अनुमोदन गर्नसमेत प्रदेश सरकारसंग माग गरेका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य अरुणराज सुमार्गीले मुलुक संघीय संरचनामा गएपछि मकवानपुरमा नीजि क्षेत्रले सम्भावना देखिरहँदा प्रदेशको स्थायी राजधानी हेटौंडा कायम गर्न नेकपाले निर्णय गर्नु आफूहरुका लागि खुशीको कुरा भएको बताएका छन् । बहुमतमा रहेको सत्तारुढ दल नेकपाको निर्णयलाई नीजि क्षेत्रले स्वागत गर्दै हेटौंडा प्रदेशको स्थायी राजधानी भएपछि अब विकासले थप गति लिने उनले विश्वास व्यक्त गरे । ‘सबै शहरलाई जोड्ने शहर हुनु तथा उपयुक्त वातावरण भएकाले हेटौंडालाई राजधानी कायम गर्ने निर्णय नेकपाबाट हुनु हामी सबैका लागि खुशीको विषय हो ।’ केन्द्रिय सदस्य सुुमार्गीले भने, ‘मुख्यमन्त्री र प्रतिपक्षी दलका नेता पनि मकवानपुरकै भएका बेलामा हेटौंडा प्रदेशको स्थायी बनाउँने निर्णयले अब मकवानपुरको विकास तथा सम्भावनाका ढोला खोल्नेछ ।’
हेटौंडालाई स्थायी राजधानी कायम गराउँन नेकपाका प्रदेश ३ का सांसदलाई निर्देशन दिने निर्णयको हेटौंडा उपमहानगरपालिकाले बैठक बाटै स्वागत गरेको छ । विकास तथा समृद्घिमा अघि बढ्ने आफूहरुको अभियानमा प्रदेशको स्थायी राजधानी हेटौंडा कायम भएपछि थप बल पुग्ने उपमहानगरपालिकाले विश्वास समेत व्यक्त गरेको छ ।