वनदेवी मार्गमा स्ल्याब ढलान सुरु
मकवानपुर । मकवानपुरको हेटौंडा ५, पिप्लेस्थित वनदेवी मार्गमा स्ल्याब ढलान सुरु गरिएको छ । हेटौंडा उपमहानगरपालिका, हेटौंडा ५ नम्बर वडा कार्यालय तथा स्थानीय जनश्रमदान गरी १५ लाख दुई हजार लागतमा एक सय ६५ मिटर स्ल्याब कार्य सुभारम्भ गरिएको हो ।
स्थानीय वनदेवी टोल विकास संस्थाको अगुवाईमा हेटौंडा उपमहानगरपालिका तथा हेटौंडा उपमहानगरपालिका ५ नम्बर वडा कार्यालयको १० लाख रुपैंया लागत एवम् वनदेवी टोलबासीका तर्फबाट पाँच लाख दुई हजार जनश्रम लागतमा स्ल्याब ढलान कार्य सुरु गरिएको टोल विकास समितिका अध्यक्ष केशव घिमीरेले जानकारी दिए । वर्षायामको बेलामा हिलोले हिड्नै नसक्ने बाटोका कारण समस्या झेल्दै आइरहेका स्थानीयबासी स्लाब ढलान सुरु गरिएपछि हर्षित बनेका छन् ।
स्ल्याब निर्माण कार्य पूरा भएपछि वनदेवी टोलका ९६ घरधुरी, अहिले निर्माणाधीन दश घरधुरी तथा अन्य धरधुरी लाभान्वित हुने अध्यक्ष घिमीरेले जानकारी दिए । विशेषगरी वर्षाको बेलामा नजिकैको माछा प्लानबाट बढी भएको पानी निस्केर हिडडुल गर्न समस्या हुदै आएकोमा अब स्ल्याब ढलान गर्ने भएपछि क्रमिक रुपमा त्यो समस्या हट्ने भएको छ । विगत लामो समयदेखि हेटौंडा उपमहानगरपालिकाभित्र भएर पनि कच्ची अनि असहज हुने बाटोमा हिड्न बाध्य बनिरहेकोमा हेटौंडा उपमहानगरपालिकाले बजेट विनियोजन गरेर स्ल्याब ढलान कार्य सुरु गर्न पाउँदा आफूहरुलाई औधी खुशी लागेको स्थानीयबासीको भनाई छ । ‘विगत लामो समयदेखि व्यवस्थित सडक नहुँदा समस्या झेल्दै आइरहेकोमा हेटौंडा उपमहानगरपालिकाका मेयर तथा हेटौंडा ५ नम्बर कार्यालयका अध्यक्षबाट हाम्रो माग सुनुवाई हुँदा खुशी लागेको छ ।’ टोल विकास समितिका अध्यक्ष घिमीरेले भने ।
टोल विकास गठन पछि आफ्नो टोलका पहिलो विकासको काम नै व्यवस्थित स्ल्याब ढलान गरिएको घिमीरेले बताए । आगामी दिनमा पनि टोलमा वडा तथा उपमहानगरपालिकासंग आवश्यक सहयोग लिएर आवश्यक विकासका लागि आफूहरु लागिपर्ने उनले बताए ।
हालसालै गठित वनदेवी टोल विकास संस्थाका तर्फबाट टोलमा विकास निर्माणको काममा लागिपर्ने योजना बमोजिम गएको तिहारमा देउशीभैलो मार्फत ९० हजार रुपैंया आर्थिक संकलन समेत गरिएको थियो । संकलित रकम मध्ये ७० हजार रुपैंयाको क्याटरिङका लागि आवश्यक भाँडाकुँडा खरिद गरेको तथा बाँकी रकम संस्थासंगै बचत रहेको अध्यक्ष घिमिरेले जानकारी दिए । देउशी–भैलोमार्फत संकलित रकमबाट खरिद गरिएका बाटा, डेक्ची, कराई, कुर्सी लगायत भाँडाकुँडाको सामान विवाह तथा अन्य उत्सवमा भाडामा लगाएर प्राप्त आम्दानीबाट टोलमा सामाजिक तथा विकासका कार्यमा खर्च गर्ने कार्य थालनी गरिएको अध्यक्ष घिमीरे बताउँछन् ।