उद्योग संघ मकवानपुर आफ्नै भवनमा

लोकखबर
१६ पुष २०७६, बुधबार १५:४४

मकवानपुर । उद्योग संघ मकवानपुरको आफ्नै भवन निर्माण भएको छ ।
हेटौंडा औद्योगिक क्षेत्रमा साँढे चार रोपनी क्षेत्रको जग्गामा साँढे सात स्क्वायर फिटमा नव निर्मित दुई तले भवनको आज बुधबार उद्घाटन गरिएको हो । करिब दुई वर्ष लगाएर ९५ लाख रुपैया लागतमा निर्माण गरिएको नव निर्मित भवनको हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले उद्घाटन गरे ।
मेयर महतले औद्योगिक क्षेत्रमा उपमहानगरपालिकाका तर्फबाट गर्नुपर्ने आवश्यक सहयोगका लागि सधैं तयार रहेको बताए । हेटौंडामा उद्योग भित्राउनका लागि आफ्नो तर्फबाट गर्नुपर्ने कामका लागि सदैव तयार रहेको बताउँदै मेयर महतले स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्न सकिए वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता टर्ने उल्लेख गरे । हेटौंडामा उद्योग स्थापना गरेर रोजगारीको अवसर सृजना गर्नका लागि उद्योगी व्यवसायीलाई मेयर महतले सुझाव पनि दिए ।

उद्योग संघको भवन उद्घाटन समारोहमा बोल्दै हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत ।

भवन निर्माणका लागि उद्योगी व्यवसायीको सहयोगका साथै हेटौंडा उपमहानगरपालिकाले पाँच लाख, औद्योगिक व्यवस्थापन कार्यालयले दुई लाख रुपैंया सहयोग गरेको उद्योग संघ मकवानपुरका अध्यक्ष नवराज अर्यालले जानकारी दिए । भवन निर्माणका लागि कुल लागत एक करोड बीस लाख अनुमान गरिएको छ । अब भवनमा अफिस डेकारेशन लगायतका काम गर्न बाँकी रहेको अध्यक्ष अर्यालले जानकारी दिए ।
नव निर्मित भवनको माथिल्लो तलामा आठ वटा कोठा र तल्लो तलामा करिब दुई जना अटाउने सुविधा सम्पन्न हल रहेको अध्यक्ष अर्यालले बताए।
यसअघि हेटौंडा औद्योगिक क्षेत्रकै एनआइडीसीको भवनबाट संघको कार्यालय संचालन आएको थियो ।
आफ्नै भवन भएपछि अब संघको विभिन्न कार्यक्रम गर्नलाई भाडामा हल खोज्दै हिड्नुपर्ने झन्झट नहुने तथा अन्य उद्योगका कार्यक्रम गर्नका लागि सुविधा सम्पन्न हल उपलब्ध गराउँन सकिने अध्यक्ष अर्यालले बताए । भवनको माथिल्लो तल्लामा गेस्ट रुम पनि व्यवस्थापन गर्न लागिएकाले मकवानपुर बाहिरबाट हेटौंडा आउने गेस्टलाई बासको प्रबन्ध पनि उद्योग संघ गर्नेछ ।
नव निर्मित भवनमा औद्योगिक क्षेत्रका उद्योगका उत्पादन डिस्प्ले बोर्डमार्फत प्रदर्शन गर्ने तयारीमा समेत आफूहरु रहेको अध्यक्ष अर्यालले जानकारी दिए । औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयसंग ४० वर्षका लागि सम्झौता गरी उद्योग संघ मकवानपुरको भवनबाट कार्यालयको काम सुरु गरिएको उनले बताए ।
भवन उद्घाटन समारोहमा उद्योग संघका पूर्व अध्यक्ष माधव अधिकारी, ऋषिराम घिमिरे, नेपाली कांग्रेस मकवानपुरका सभापति माइकल रामचन्द्र अर्याल, नारायणी यातायात व्यावसायी संघ हेटौंडाका निवर्तमान अध्यक्ष बद्रीप्रसाद चौलागाई लगायतकाले उद्योग संघलाई सुविधासम्पन्न आफ्नै कार्यालय भवन बनेकोमा बधाई दिएका थिए ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*