‘पत्रकारले सहजै सूचना पाउँने वातावरण बन्नुपर्ने’

मकवानपुर । मकवानपुरको हेटौंडामा सञ्चार तथा सूचना प्रविधि सम्बन्धी प्रदेशस्तरीय अन्तरक्रिया गरिएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आयोजना गरेको अन्तरक्रियामा प्रदेश ३ का प्रमुख सचिव तोयम राईले पत्रकारले सहजै सूचना पाउँने वातावरण बन्नुपर्ने बताएका छन् । सरकारी निकायले पत्रकारले सूचना माग गर्दा सूचनाको हक प्रयोग गर्नुपर्ने अवस्था रहेको बताउँदै त्यस्तो हुनु नहुने बताए । सबै सरकारी निकायले पत्रकारले मागेको सूचना सहज दिने स्थिती बन्नुपर्ने उनको भनाई छ ।
अहिलेको समय सूचना प्रविधीको भएको उल्लेख गर्दै प्रमुख राईले सरकारी निकायले अब महत्वपूर्ण कागजातलाई डिजिटल अभिलेखमा राख्नुपर्ने बताए । उनले सूचना प्रविधिमा प्रदेश ३ लाई पहिलो प्रदेश बनाउन आफू लागिपर्ने पनि बताए ।
प्रदेश ३ का प्रेस रजिष्ट्रार रेवति सापकोटाले प्रविधीलाई व्यवस्थापन गर्दै सही सदुपयोग गर्नुपर्नेमा जोड दिए ।
प्रदेश ३ भित्रका विभिन्न मन्त्रालय, सरकारी निकाय, पत्रकारलगायतकाको सहभागितामा आयोजित अन्तरक्रियामा आम सञ्चार नीति २०७३, डिजिटल हस्ताक्षर, सूचनाको हक कार्यान्वयनमा सेवा प्रदायकको भूमिका र वर्तमान अवस्था, इमेल निर्देशिका, विज्ञापन–नियमन) ऐन २०७६ र डिजिटल नेपाल फ्रेमवर्कका विषयमा छलफल गरिने जनाइएको छ ।