पार्टीको निर्णयमा किन यस्तो लफडा ?

मकवानपुर । नेकपा सचिवालयको बैठकबाट प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा कायम गर्ने निर्णय गरिएपछि अहिले नेकपा भित्र यस विषयमा केही नेतामा असन्तुष्टि बढेको छ ।
प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले दुई वर्षसम्म राजधानी र नामबारे टुंगो लगाउँन नसकिरहेको आरोप खेपिरहेका बेला नेकपाले निर्णय गरेर प्रदेशसभालाई सहजीकरण गरिरहेको दाबी गरेपनि पार्टीभित्र यस विषयमा असन्तुष्टि बढेको हो ।
पार्टीले गरेको निर्णय मान्दिन भन्ने अधिकार सांसदलाई भएपनि पार्टीबाटै टिकट पाएर चुनाव जितेका सांसदबाट यस्तो प्रतिकृया आउँनु राम्रो नभएको टिप्पणी भइरहेका छन् । नेकपा मकवानपुरकी सांसद एवं पार्टी मकवानपुर अध्यक्ष मुनु सिग्देल प्रदेश ३ का सांसद पार्टीको सिपाही भएकाले पार्टीले लिएको निर्णय मान्नुपर्ने बताउँछिन् । ‘ राजधानीका विषयमा निर्णय गर्न प्रदेशसभाका हामी सांसदलाई असजिलो भइरहेको बेलामा पार्टी केन्द्रले निर्णय गरेर सहजीकरण गरिदिएपछि अब त झन् सहज भएको छ । ’ नेतृ सिग्देलको भनाई छ ।
अस्थायी राजधानी हेटौंडामा नै प्रदेश राजधानी कायम गर्ने निर्णयको प्रदेशसभाका केही सांसदले विरोध जनाइरहेका बेला अब बस्ने बैठकबाट यसबारे टुंगो लगाइने भएको छ । आज विहीबार बसेको प्रदेश ३ को कार्यव्यवस्था समितिको बैठकमाराजधानी र नामाकरणको विषयमा छलफल भयो । प्रदेश ३ का सांसदका बिचमा सकेसम्म सहमतीमा राजधानी तथा नाम टुंगो यदि सहमती हुन सकेन भने मतदानमा लगेर भएपनि अब टुंगो लगाउँने आजको बैठकमा छलफल भएको बताइएको छ ।
अब प्रदेशसभामा यही पुष २१ गते सुरु हुने हिउँदे अधिवेशनको भोलिपल्ट पुस २२ गते नै राजधानी र नामको विषयमा निर्णय लिइने जनाइएको छ। आज विहीबारको बैठकले पुष २१ गते ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बसेर टुंग्याउँने निर्णय भएको जनाइएको छ ।
हिउँदे अधिवेशनको भोलिपल्ट अर्थात पुष २२ गते प्रदेश ३ को राजधानी हेटौंडा र नाम बागमती राख्ने सत्तारुढ नेकपाको निर्णयले अनुमोदन पाउँला भन्नेमा मकवानपुरका नेताहरु आशावादी बनेका छन् । नेकपाको निर्णयमा पार्टीभित्रैबाट असन्तुष्टि बढेपछि सहज रुपमा भने राजधानी तथा नाम टुंगो हुन नसक्ने अवस्था सिर्जना भएको छ ।