अमेरिका-इरान तनाव : नेपाललाई कस्तो असर गर्ला ?
मेरिका र इरानबीच द्वन्द्व बढ्दै जाँदा विश्व बजार प्रभावित बनेको छ। दुई देश झन्डै युद्धको अवस्थामा छन्।
अमेरिकी हवाई हमलामा शुक्रबार इरानका सबैभन्दा शक्तिशाली सैन्य कमान्डर जनरल कासिम सुलेमानीको मारिएपछि इरानले अमेरिकाविरुद्ध युद्ध नै घोषणा गरिसकेको छ। उता अमेरिकाले त्यसो गरे ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिइरहेको छ।
विश्वका दुई आणविक राष्ट्रबीचको यो द्वन्द्वले विश्व बजारमा तेल र ग्यास वितरणलाई प्रत्यक्ष प्रभावित पारेको छ। यो युद्ध खाली इरान र अमेरिकाबीच मात्र होइन, यसले खाडीका सबै देशलाई प्रत्यक्ष रूपमा प्रभाव पार्नेछ।
र, त्यो प्रभावबाट नेपाल पनि अछुतो रहने छैन। हुन त नेपालले कुनै पनि खाडी मुलुकबाट कच्चा तेल आयात गर्दैन। नेपालले तेल आयात गर्ने छिमेकी मुलुक भारतलाई भने पछिल्ला विकसित घटनाक्रमले प्रत्यक्ष असर पर्ने देखिन्छ।
अन्तर्राष्ट्रिय बजारमा भर परेको नेपाली बजारमा पनि तेल तथा ग्यासको मूल्य बढ्नेछ। स्थानीय बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ। अब तेल र ग्यासको मूल्यमा पनि यस्तै असर पर्नसक्ने विश्लेषण विश्व बजारमा छ।
अमेरिकाले सुलेमानको हत्या गरेपछि तेल र ग्यासको मूल्यमा निरन्तर वृद्धि भइरहेको छ।
उक्त घटनाले विश्वका सबैभन्दा ठूलो तेल निर्यात गर्ने देश इरान र इराकमा ठूलो असर गरेको छ। खाडी मुलुकहरूबाट विश्व बजारमा ५० प्रतिशतभन्दा धेरै तेल निर्यात हुन्छ। यस्तो अवस्थामा विश्व बजारलाई नै प्रभाव परेको सङ्केत देखिन थालेका छन्।
सामाचार संस्थाहरूका अनुसार पछिल्ला तीन दिनमा तेलको मूल्य ह्वात्तै बढेको छ भने सेयर बजार घटेको छ।
सोमबार अन्तर्राष्ट्रिय बजारमा तेलका मूल्य २ प्रतिशतले बढेको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ७० अमेरिकी डलर पुगेको छ। तीन दिनको अवधिमा कच्चा तेलको मूल्य २।१ प्रतिशतले वृद्धि भएको रोयटर्सले जनाएको छ।
अमेरिका र इरानबीच युद्ध भइहालेमा वा तनाव जारी रहिरहेमा भारतमा आउने कच्चा तेलको अभाव हुनेछ। भारतले इरानलगायत खाडी देशबाट आफूलाई चाहिने कच्चा तेल ल्याउँछ।
खाडीमा द्वन्द्व बढ्दै जाँदा भारतमा कच्चा तेलको अभाव हुने र यसले भारतीय अर्थतन्त्रमै ठूलो असर गर्ने आँकलन गरिएको छ। साथै, यसको प्रभाव विदेशी मुद्रामा पनि पर्नेछ। अन्ततः यसले महँगी बढाउनेछ। दैनिक उपभोग्यका खाद्यान्नदेखि यातायातका साधनसम्मको मूल्य बढ्ने र बेरोजगार बढाउनसक्ने विश्लेषण गरिएको छ।
खाडीका विभिन्न देशमा ८० लाख भारतीय रहेका छन्। साथै, त्यहाँबाट भारतले आफूलाई चाहिने तेलमध्ये ८० प्रतिशत कच्चा तेल आयात गर्छ। भारतको सय बिलियनभन्दा धेरैको व्यापार खाडी मुलुकसँग हुन्छ। यति ठूलो सम्बन्ध रहेको भारतलाई खाडीको द्वन्द्वले नराम्ररी असर गर्ने देखिन्छ। भारतमा तेलको अभाव हुने र महँगी बढ्ने हो भने त्यसको असर नेपालमा पर्नेछ।
सन् १९७३ मा इन्दिरा गान्धीको सरकार हुँदा भारतमा कच्चा तेलको अभाव भएको थियो। कच्चा तेलको मूल्य डेढ डलरबाट बढेर ८ डलर पुगेको थियो। यसले भारतको पूरै अर्थतन्त्र ध्वस्त भएको बिबिसीले उल्लेख गरेको छ। त्यो बेला विदेशी विनिमय अत्यन्तै कम हुन गएको थियो। त्यसपछि चन्द्रशेखर र विपी सिंहको सरकारका बेलामा पनि यस्तै समस्या भारतले भोग्नुपरेको थियो।
अहिले पनि त्यस्तै अवस्था सिर्जना हुनसक्ने आँकलन गरिएको छ।
गएका केही महिनामा खाडी मुलुकमा विभिन्न घटना भइरहेका छन्। जसले विश्वको तेल बजारलाई तल(माथि गराइरहेका छन्। इरानको तेल कारखानामा अमेरिकी ड्रोन आक्रमण भयो। इरानमा सकेसम्म धेरै दबाब दिने अमेरिकी नीति खासै सफल हुन सकेन।
त्यसपछि अमेरिकाले अर्को रणनीति लिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन्। उसले अब इराक, लेबनानमा इरानको प्रभाव कम कसरी गर्न सकिन्छ भन्नेमा ध्यान केन्द्रित गरेको छ। अमेरिकाले सिरियालगायतका आफ्ना सहयोगी देशसँग मिलेर इरानमा वसर(अल(असदको सत्ता पल्टाउने कोशिस गरिरहेको छ, जुन अहिलेसम्म सफल हुनसकेको छैन।
अमेरिका इरानमा आर्थिक मन्दी ल्याउन चाहन्छ, जुन इराकले पनि चाहेको छ। अरब देशभरी नै अमेरिकी सैनिक रहेका छन्। इराकदेखि, ओमानसम्म हजारौं अमेरिकी सैनिक रहेका छन्।
इरानसँग रहेका मिसाइलको प्रयोग भयो भने अमेरिकालाई मात्र होइन खाडी मुलुकलाई नै ठूलो नोक्सान र असर हुनेछ। साउदी अरब र युएईलाई पनि यो डर छ कि इरान र अमेरिका सिधा युद्ध भएमा यसको ठूलो नोक्सान आफूहरूले पनि भोग्नुपर्नेछ।
अमेरिका र इरानबीचको द्वन्द्व कम गर्न र वार्ताको लागि पहल गर्न ओमानलगायतका देशले प्रयास पनि गरिरहेका छन् तर इरानले वार्ताको लागि सबैभन्दा पहिलो सर्त उसमाथि लगाइएको प्रतिबन्ध फुकुवा हुनुपर्छ।
उता इराकमा रहेका अमेरिकी सेना फिर्ता गर्ने कि नगर्ने भन्ने विषयमा पनि अमेरिकासँग उसको द्वन्द्व बढिरहेको छ। इराकले अमेरिकी सेनालाई इराकबाट फिर्ता जान भनिरहेको अवस्थामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सेना फिर्ता गराएमा इराकमाथि पनि नाकाबन्दी गराउने चेतावनी दिइरहेका छन्।
विदेशी समाचार संस्था तथा विश्लेषकले पछिल्ला दिनमा अमेरिकी राष्ट्रपति ट्रम्प ‘युद्धको भोको’ भएको तर्क गरिरहेका छन्। पछिल्लो दिनमा इरानका सबैभन्दा शक्तिशाली सैन्य कमान्डर जनरल कासिम सुलेमानीको हत्या गर्नु यसैको सङ्केत भएको उनीहरूको भनाइ छ।
नेपालन्युज डटकमबाट