क्याम्पसकै प्राध्यापक संघ उभियो विद्यार्थीका पक्षमा
मकवानपुर । मकवानपुर बहुमुखी क्याम्पस संचालक समितिले मासिक शुल्कमा ६५ प्रतिशत शुल्क वृद्दि गरेपछि क्याम्पस्थित स्ववियु तथा विद्यार्थी संगठन आन्दोलित बनिरेका बेलामा क्याम्पसस्थित प्राध्यापक संघ पनि आन्दोलित विद्यार्थीकै पक्षमा लागेको छ ।
क्याम्पस स्थित पब्लिक क्याम्पस प्राध्यापक संघ क्याम्पस इकाइले आज मंगलबार विज्ञप्ती जारी गर्दै संचालक समितीले गरेको शुल्क वृद्दिको निर्णय सच्याउन आग्रह गरेको छ ।
क्याम्पसको यही पुस २० गते सञ्चालक समितिको बैठकले गरेको निर्णयमा विद्यार्थी संगठनसंगै प्राध्यापक संघको पनि असन्तुष्टि आएको छ ।
संघका अध्यक्ष भोजराज ढकालले जारी गरेको विज्ञप्तिमा क्याम्पस संचालक समितिको निर्णयले प्राध्यापकहरुको आत्मसम्मान माथि प्रहार गरेको उल्लेख छ । गतसाउन महिनादेखि रोकिएको अतिरिक्त पारिश्रमिकका सम्वन्धमा सञ्चालक समितिले गरेको निर्णय, विज्ञान संकायमा सैद्धान्तिक र प्रयोगात्मक कार्य गरे बापत प्रदान गरिने सुविधामा भएको निर्णय विभेदकारी भएको विज्ञप्तीमा जनाइएको छ ।
क्याम्पसको व्यवस्थापकियदेखि गुणवृद्धिसम्म अभिन्न साझेदार रहेका प्राध्यापकहरुलाई मर्माहत पार्ने गरी गरेको निर्णयको छिटो पुनर्विचार गर्न संघले समितिलाई आग्रह गरेको छ ।