राजधानी सकस

हेटौंडाका पक्षमा एकमत भएर जान नेकपा संसदीय दलको बैठक बस्दै

लोकखबर
२४ पुष २०७६, बिहीबार ०६:२१

मकवानपुर । प्रदेश ३ को नाम र राजधानीको विषयमा एकमत भएर जानका लागि नेकपा प्रदेश ३ को संसदीय दलको बैठक विहीबार (आज) विहान बस्दैछ ।

बैठक अहिले ८ बजे मुख्यमन्त्री डोरमणि पौडेलको निवासमा हुने जनाइएको छ । प्रदेशको राजधानीका विषयमा पार्टीका सांसदबिच फरक फरक धारणा आइरहेपनि निर्णयका लागि प्रदेशसभामा जाँदा एकमत भएर जानका लागि संसदीय दलको बैठकले निर्णय लिने बताइएको छ ।

राजधानीका विषयमा प्रदेश सांसदबाट आएका फरक विचारलाई पनि सम्मान गर्ने तर प्रदेशसभाबाट हेटौंडा कायम गराउन एकमत हुने विषयमा बैठकमा सहमती हुने अपेक्षा छ गरिएको छ ।

संसदीय दलको यसअघि तीन दिनसम्म बसेको बैठकले राजधानीका विषयमा ठोस निर्णय गर्न सकिरहेको थिएन । राजधानी हेटौंडामा कुनै हालतमा बनाइनु नहुने बताउँदै आएका केही असन्तुष्ट सांसदले नेकपाका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर आफ्नो गुनासो राखेका थिए ।

पार्टी प्रदेश ३ कमिटीका इन्चार्ज अष्टलक्ष्मी शाक्य, अध्यक्ष नारायण दाहालसहित प्रदेशका केही मन्त्री र सांसदले दुई अध्यक्षलाई भेटेर कुनै हालतमा हेटौंडा राजधानी बनाउँन नहुने सुझाव दिएका थिए । नेकपा सचिवालय बैठकले राजधानी हेटौंडा तथा नाम बागमती राख्ने विषयमा गरेको निर्णय पुनर्विचार नगर्ने दुई अध्यक्षको कडा दबाब आएपछि असन्तुष्ट सांसद निराश भएर हेटौंडा फर्किएका थिए ।

पार्टी अध्यक्ष प्रचण्डले हेटौंडा अपायक भएको भन्दै गुनासो गर्ने सांसदलाई भोलि प्रदेशको संरचना फेरबदल हुनसक्ने भएकाले अहिले पायक–अपायक विषयमा बहस नगर्न भनेका थिए ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*