आन्दोलित विद्यार्थी र क्याम्पस प्रशासनबिच जुटेन सहमती, तेस्रो दिन अनसन जारी

मकवानपुर । मकवानपुर बहुमुखी क्याम्पसमा आन्दोलनमा रहेका विद्याथी र क्याम्पस प्रशासन बिच भएको वार्ता असफल भएको छ ।
क्याम्पस संचालक समितिले बढाएको शुल्क फिर्ताको माग गर्दै आन्दोलनमा रहेका स्ववियु तथा क्याम्पसस्थित विभिन्न विद्यार्थी संगठनका नेता तथा क्याम्पस प्रशासन बिच बुधबार हिजो वार्ता भएपनि सहमती नजुटेको हो । वार्तामा क्याम्पस घाटामा रहेको भन्दै बृद्घि गरिएको शुल्क फिर्ता लिन नसकिने जवाफ क्याम्पस प्रशासनले दिएपछि विद्यार्थीहरुले आफ्नो आन्दोलन पनि नरोकिने बताएको क्याम्पसका स्ववियू सभापति कुमार केशीले जानकारी दिए ।
यही पुष २० गते बसेको क्याम्पस संचालक समितिको बैठकले भर्ना शुल्कमा सय प्रतिशत र मासिक शुल्कमा ६५ प्रतिशत बढाउँने निर्णय गरेपछि विद्यार्थीहरु आन्दोलित बनेका छन् ।
क्याम्पसमा स्ववियु सभापति कुमार केसी, अनेरास्ववियू क्याम्पस कमिटी अध्यक्ष एमबी बस्नेत र अनेरास्ववियु क्रान्तिकारी क्यम्पस कमिटीका अध्यक्ष रामकृष्ण शिवाकोटीको रिले अनशन आज विहीबार तेस्रो दिन पनि जारी छ ।
आन्दोलित विद्यार्थी संगठनले क्याम्पसको प्रशासन शाखा, क्याम्पस संचालक समितिका अध्यक्ष, क्याम्पस प्रमुख, सहायक क्याम्पस प्रमुखको कार्य कक्ष र कर्मचारी कक्षमा ताला लगाइदिएका छन् ।
विद्यार्थीको हित विपरित संचालक समिति लागेको भन्दै निर्णय फिर्ता लिन दबाब दिन आन्दोलनमा उत्रिएका आफूहरुको मागबारे क्याम्पस प्रशासनका तर्फबाट भूमिका निर्वाह नगरिएको विद्यार्थीको भनाई छ ।