‘आफ्नो स्वार्थका लागि त्यो पायक र यो अपायक नभनौं ।’
मकवानपुर । प्रदेश ३ को प्रदेशसभा संसदमा विहीबार (आज) राजधानी तथा नामकरणका विषयमा बोल्ने सांसदले हेटौंडा तथा काभ्रेका विषयमा विभाजित भएका छन् । आज २२ जना सांसदले आफ्नो धारणा राखे ।
प्रदेशसभामा नेकपा मकवानपुरका अध्यक्ष मुनु सिग्देलले मकवानपुरको इतिहास तथा वीरताको सम्मानका लागि पनि प्रदेश राजधानी हेटौंडा हुनुपर्ने माग गरिन् । उनले राज्य एकीकरणको समयमा काठमाडौं उपत्यकालाई जित्न र अंग्रेज सेनालाई पराजित गर्न मकवानपुर गढीमा किल्ला बनाई देशको रक्षा गरेको बताउँदै मकवानपुरको हेटौंडालाई स्थायी कायम गर्न सबै सांसद एकमत हुनुपर्ने बताइन् ।
प्रदेश सांसद ओम ग्लानले राजधानीलाई मानव शरीरसंग तुलना गर्दै टाउको र खुट्टा छेउतिर पर्ने भएपनि महत्व भएको उल्लेख गर्दै राजधानी बिचमै हुनुपर्छ भन्ने भनाईको तालमेल नभएको दाबी गरे ।
सांसद रिना गुरुङले आफ्नो स्वार्थलाई हेरेर यो ठाउँ पायक र अपायक भन्न नहुने बताइन् ।
नेकपा सांसद राजेन्द्र पाण्डेले आफू हेटौंडाको विरोधी नभएको बताउँदै राजधानी हेटौंडा र काभ्रे दुवै ठाउँमा तोकेर अघि बढ्न सकिने बताए । हिउँदे र बर्षे अधिवेशन चलाउने गरी दुवै जिल्लालाई राजधानी बनाएर अघि बढ्न सकिने नेता पाण्डेको सुझाव छ ।
सांसद बैठक भोलि दिउशो ३ बजे फेरी बस्ने गरी स्थगित भएको छ ।