समाचार विश्लेषण

नेकपा संसदीय दलको बैठक :  घुमीफिरी रुम्जाटार

राजनैतिक करियर सुरक्षित हुने र जनताबाट पनि स्याबासी पाउँने निर्णयमा लाग्ने हो कि ?
शिव चौलागाईं
२४ पुष २०७६, बिहीबार २२:३४

मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश ३ संसदीय दलको विहीबार (आज) बसको बैठकले पनि प्रदेश ३ को राजधानीका विषयमा ठोस सहमती जुटाउँन सकेन ।

यसअघि बसको बैठक निष्कर्षहीन हुने गरेका कारण आजको लागि बोलाइएको बैठकले अब सहमती गर्ने अपेक्षा गरिएको थियो । नेकपाको सचिवालयले प्रदेश ३ को राजधानी हेटौंडा तथा नाम बागमती राख्ने निर्णय गरेर सोही अनुसार गर्न प्रदेश ३ का सांसदलाई निर्देशन दिने निर्णयप्रति असन्तुष्टि जनाएका सांसदले अब हेटौंडा राजधानी मान्छन् भनिएपनि यथार्थमा त्यस्तो भइरहेको छैन ।

प्रदेश राजधानी तथा नामका विषयमा प्रदेश ३ को राजधानी हेटौंडा संसदमा छलफलको प्रकृया अघि बढाउँनु अघि नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले असन्तुष्ट नेतालाई बोलाएर भेट गरी सहमती गरेर अघि बढ्न दिएको सुझाव कार्यान्वयन गर्नेतर्फ किन ध्यान गइरहेको छैन भन्ने चासो यतिबेला छ ।

नेकपामा विशेषगरी अष्टलक्षी शाक्य, राजेन्द्र पाण्डे लगायतका नेता हेटौंडालाई कुनै हालतमा राजधानी बनाउँन नहुने पक्षमा छन् । संसदमा भोटिङ हुँदा फ्लोर क्रस हुने डरले नेकपा अध्यक्ष द्घयले असन्तुष्ट सांसदलाई काठमाडौंमा बोलायर पार्टीले गरेको निर्णय विपरित नजान निर्देशन दिएका थिए । राजधानी हेटौंडा बाहेक अरु विकल्प छैन भन्ने निर्देशन दिएका दुई अध्यक्षसंग असन्तुष्ट नेता फकिएर हेटौंडा फर्किएको र अब संसदीय दलले पनि निर्णय गरेर हेटौंडाका विषयमा एकमत भएर जाने अपेक्षा गरिएको थियो । तर पटक पटक बैठक बस्दै विना निश्कर्ष टुंगिदै आइरहेकोबाट पार्टी हाइकमान्डको निर्देशन विपरित नेकपाका नेता लाग्ने हुन् कि भन्ने डर पैदा भएको छ ।

बैठकको चौथो पटक पनि पहिलो दिनको बैठकमा झैं धारणा राख्ने काम भएकाले पार्टीले गरेको निर्णय किन मान्न यतिविधी असहज भन्ने प्रश्न उब्जिएका छन् । केही केही विश्लेषण यस्ता पनि छन् कि हेटौंडा निवासी मुख्यमन्त्री डोरमणि पौडेलसंग व्यक्तिगत टकरावका कारण उनका सामु कुनै हालतमा नझुक्ने मनस्थिती भएका नेकपा सांसदका कारण संसदीय दलको बैठक ‘घुमीफिरी रुम्जाटार’ भने झैं भइरहेको छ ।

मुख्यमन्त्री पनि आफैं पनि अनि प्रदेशको राजधानी पनि हेटौंडामै राख्नुपर्ने भन्दै कतिपय नेताले डोरमणि पौडेलले राजधानी लिने भए मुख्यमन्त्री पद छाड्नुपर्ने औपचारिक कुराकानीमा बताउँने गरेको पनि सुनिन्छ । यदि यही कारणले हो भने नेताहरु संघीयता, जनताप्रति कत्तिको उत्तरदायी भन्ने देखाउँछ । असन्तुष्ट नेतासंग भेट गरेका प्रचन्डले भोलिका दिनमा प्रदेशको संरचना नै फेरिनसक्छ भनेर सम्झाउँनु परेपछि नेताहरु अहिले आफ्नो विभिन्न अभीष्टमा रुमल्लिएको एकातिरबाट विश्लेषण गर्न सकिन्छ । यदि यस्तो हो भने नेताहरुले आफ्नो राजनीति के का लागि भनेर सोच्नुपर्ने देखिन्छ ।

संसदीय दलको बैठकमा नेताहरुले ‘मेरो गोरुको बाह्रै टक्का’ गर्नु आफ्नो क्षेत्रका मतदाता नभड्काउँन खेलेको चाल मान्न पनि सकिन्छ । आफ्नो क्षेत्रमा राजधानी बनाउँन सकेसम्म बल गरेकै हो भन्नका लागि पनि ‘हेटौंडा हुँदै हुँदैन’ भन्ने तर्क गरेर संसदीय दलको बैठकलाई विना निस्कर्ष टुंगाएको आशंका गर्न पनि सकिन्छ । नेता राजेन्द्र पाण्डेले कि पार्टी छाड्नुपर्ने भयो कि विष पिउँनु पर्ने भो भन्ने गुनासोबाट यस्ता धेरै आशंकाको उत्तर पाउँन सकिन्छ । नत्र हेटौंडा कुनै पनि हालतमा किन हुदैन भन्नुको लजिक के हो भन्ने उनीहरुबाट पनि आइरहेको छैन ।
बैठक बस्ने, स्थगित हुने क्रम अब कहिलेसम्म ? नेकपा नेता कार्यकर्ताका साथै आम नागरिककको पनि चासोको विषय बन्न थालेको छ । अझ बढी चासो त यसमा मकवानपुरेको छ । किनभने मकवानपुरको हेटौंडालाई प्रदेशको राजधानी बनाउँने वा नबनाउँने भन्ने अन्तिम निर्णय नेकपा प्रदेश ३ का सांसदमै निर्भर छ । कम्युनिष्टको बाहुल्य रहेको मकवानपुरमा यो कायम राख्नका लागि राजधानी पनि कायम राख्नुपर्ने बाध्यतात्मक स्थिती आइपरेको छ । यसर्थ, प्रदेश ३ का नेकपाका माननीयले पार्टी हाइकमान्डले गरेको निर्णय शिरोपर गरेर अघि बढ्दा आफ्नो राजनैतिक करियर पनि सुरक्षित हुने र मकवानपुरबासीका तर्फबाट पनि स्याबासी पाउँने निर्णयमा लाग्ने हो कि ?

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*