हेटौंडामा पुष २६ गतेबाट प्रदेशस्तरीय छैठौं स्व. माधवराज सुमार्गी टि ट्वान्टी क्रिकेट

मकवानपुर । मकवानपुरको हेटौंडामा यही पुष २६ गतेबाट छैठौ स्वर्गीय माधवराज सुमार्गी टि ट्वेन्टी क्रिकेट कप प्रतियोगिताको तयारी गरिएको छ । प्रतियोगितामा प्रदेश ३ स्तरिय ८ वटा टिमले सहभागीता जनाउने जनाइएको छ ।
विहिबार आयोजित पत्रकार सम्मेलनमा आयोजक मकवानपुर क्रिकेट संघले छैठौ र सातौ प्रतियोगिताको लागि प्रायोजक हेटौडा एकेडेमीसंग दुई वर्षका लागि सम्झौता समेत गरेको छ । सम्झौतापत्रमा हेटौडा एकेडेमीको तर्फबाट विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अरुणराज सुमार्गी र मकवानपुर क्रिकेट संघका अध्यक्ष बाशुलाल श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
आयोजक संघका अध्यक्ष श्रेष्ठले अब निरन्तर रुपमा प्रतियोगिता सञ्चालन गर्ने जानकारी दिए । श्रेष्ठले प्रतियोगिता संचालनका लागि पाँच लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको बताए ।
प्रतियोगितामा दुई वर्षका लागि प्रायोजन सम्झौता गरेको क्यान मकवानपुरका संस्थापक अध्यक्ष एवं हेटौडा एकेडेमी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुमार्गीले आफ्नो बाबु स्वर्गीय माधवराज सुमार्गीको नाममा प्रतियोगिता आयोजना गर्न पाउँदा खुशी लागेको बताए ।
मकवानपुरमा क्रिकेट खेल विकासका लागि प्रतियोगिताले भूमिका निर्वाह खेल्ने सुमार्गीले विश्वास व्यक्त गरे ।
प्रतियोगिताका खेलाडीहरुलाई आफ्नो तर्फबाट खाना व्यवस्था गरिने पहिलो पाईला शिशु स्याहार केन्द्रकी संचालिका अंकिता सुमार्गीले बताइन् ।
पत्रकार सम्मेलनमा मकवानपुर क्रिकेट संघका सचिव दिपेन्द्र ढकाल, प्रतियोगीता संयोजक एवं क्रिकेट संघ प्रदेश कमिटिका उपाध्यक्ष प्रेमबहादुर क्षेत्री, जिल्ला सदस्य विनोद प्रधान ,जिल्ला उपाध्यक्ष एवम् केन्द्रिय सदस्य करण महत्रा लगायतको उपस्थिती थियो ।
प्रतियोगिताको विजेता तथा उपविजेताले क्रमश : नगद ४० हजार तथा २० हजारसहित शिल्ड,मेडल एवं प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रतियोगीताको उद्घाटन खेलमा आगामी २६ गते विहान ८.३० बजे महावीर क्लव मकवानपुर र मकवानपुर क्रिकेट एकेडेमीबिच हुनेछ । प्रतियोगीताको ए समूहमा महावीर क्लव हेटौंडा, मकवानपुर क्रिकेट एकेडेमी,मकवानपुर क्रिकेट क्लव र कलैया क्रिकेट रहेका छन् । बी समूहमा यूनाईटेड क्रिकेट क्लव पर्सा,नुवाकोट क्रिकेट क्लव नुवाकोट,चित्तवन क्रिकेट क्लव चित्तवन र नेक्सस क्रिकेट एकेडेमी रहेका छन् ।
प्रतियोगिता अर्को वर्षदेखि प्रायोजक हेटौंडा एकेडेमीको खेल मैदानमा गर्ने तयारी गरिएपनि यो पटक भने हेटौंडाको लोकतान्त्रिक(हुप्र) चौरमा गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।