प्रदेशसभामा आज पनि सांसदले धारणा राख्दै
मकवानपुर । प्रदेश ३ को राजधानीको विषयमा आज पनि प्रदेशसभामा छलफल हुनेछ ।
सभामुख सानुकुमार श्रेष्ठका अनुसार बैठक आज दिउशो ३ बजेबाट सुरु हुनेछ । हिजोको छलफलमा पनि प्रदेश ३ को राजधानी हेटौँडा र काभ्रेको पक्षमा जोडदार आवाज उठेको छ । नुवाकोटलाई पनि राजधानीको माग भएको छ ।
हिजो प्रदेशसभामा राजधानीको लागि फरकफरक तर्क आएका थिए । राजधानीको स्थानको विषयमा घुम्ती राजधानीदेखि दुई स्थानमा राख्नेसम्मको प्रस्ताव आएको छ ।
राजधानीको बहसबारे दोस्रो दिन बैठकमा पहिलो वक्ताको रुपमा बोलेका नेकपा नेता तथा प्रदेशसभा सदस्य राजेन्द्र पाण्डेले अन्तराष्ट्रिय अभ्यासको परिभाषा दिँदै काभ्रे र हेटौँडा दुवैतिर राजधानी बनाउने तर्क गरे ।
नेकपा प्रदेशसभा सदस्य प्रेम बहादुर पुलामी, मुनु सिग्देल, ओम बहादुर ग्लान, कांग्रेसका सांसद सन्त चेपाङसहित सांसदले सबै हिसाबले प्रदेश राजधानीका लागि हेटौंडा उपयुक्त रहेको तर्क गरेका छन् । प्रदेशसभामा बोल्न बाँकी सांसदले आफ्नो धारणा राख्नेक्रम सकिएपछि राजधानी तथा नामकरण टुंगो लगाउँन मतदान प्रकृया अघि बढ्नेछ ।