‘संसदीय दल निर्णय गर्छ एउटा, सांसदले प्रदेशसभामा बोल्छन् अर्को’
मकवानपुर । प्रदेश ३ को राजधानी तथा नामकरणका लागि शनिबार (भोलि) प्रस्ताव पेश गरिने भएको छ । आज बसेको प्रदेशसभा बैठकमा सभामुख सानुकुमार श्रेष्ठले प्रदेश राजधानी तथा नामकरणका लागि प्रस्ताव आव्हान गरेका हुन् । यसका लागि भोलि विहान ९ बजेदेखि ११ बजे सम्मका लागि समय दिइएको छ ।
सभामुख श्रेष्ठले प्रदेशको स्थायी राजधानी तोक्ने सम्बन्धी कार्य्विधि २०७६ को अनुसूची–१ बमोजिमको ढाँचामा प्रदेश राजधानी सम्भाव्यता अध्ययन विशेष समितिले सिफारिस गरेको जिल्ला मध्येबाट प्रदेशको राजधानी सम्बन्धी प्रस्ताव दर्ता गर्न र प्रदेशको नामाकरण सम्बन्धी कार्यविधि २०७६ को अनुसूचि-१ बमोजिमको ढाँचामा प्रदेशको नामाकरण सम्बन्धी प्रस्ताव दर्ता गर्न समय प्रदान गरेका हुन् ।
प्रदेशसभाको आजको बैठकमा प्रदेश राजधानी सम्भाव्यता अध्ययन विशेष समितिको प्रतिवेदन माथिको छलफलमा सांसदहरुले आफ्नो धारणा राखेका छन. । बैठकमा भाग लिएका नेकपाका सांसदले पार्टीले हेटौंडा निर्णय गरिसकेको भएपनि राजधानीमा दाबी भने छाडेनन् ।
नेकपाकी सांसद सीता अधिकारीले समितिले दिएको सुझावका आधारमा काभ्रे राजधानीका लागि उपयुक्त भएको भन्दै काभ्रेका पक्षमा बोलिन् ।
पार्टी संसदीय दलको विहान बसेको बैठकले राजधानी हेटौंडा र नाम बागमती कायम गर्न एकमत भएर जाने निर्णय गरेपनि उनले प्रदेशसभामा काभ्रेमा राजधानी राख्नुपर्ने माग गरिन् । राजधानी जनताको पहुँचमा हुनुपर्ने भएकाले काभ्रे सबैलाई पायक पर्ने उनले जोड दिइन् । यस्तै, नेकपाका अर्का सांसद कुसुमकुमार कार्कीले पनि काभ्रेका पक्षमा बोले । प्रशासनिक हिसाबमा सबै संरचनाका लागि काभ्रे उपयुक्त भएको सांसद कार्कीको तर्क छ । ‘हामी प्रदेश बलियो बनाउँने निर्णय गर्दैछौं कि प्रदेश कमजोर बनाउँने ? ’ उनले प्रश्न गरे, ‘ अहिलेको हाम्रो निर्णयलाई भावि सन्ततीले गलत भनेको बखत हामी जवाफ दिन सक्छौं कि सक्दैनौं ? ’ प्रदेशसभामा सांसद केशव स्थापितले आज हेटौंडाको विपक्षमा बोलेनन् । उनले राजधानी बनाइँदा हेटौंडा र चितवनलाई पनि समेट्नुपर्ने जोड दिए ।
प्रदेशसभामा काभ्रेका पक्षमा विवेकशील दलका शोभा शाक्य, कांग्रेसका दीपेन्द्र श्रेष्ठ, राजाराम कार्की, भीमसेन खत्रीले बोले ।
यस्तै, सांसद जुनेली माया श्रेष्ठ, कुमारी मोक्तान, मैना अछामी, योगेन्द्रराज संग्रौंलाले अहिले अस्थायी राजधानी हेटौंडालाई नै स्थायी कायम गरेर अघि बढ्नुपर्ने माग गरे ।
यस्तै, सरस्वती बाटी, चेतनाथ सन्जेल, नेमकिपाका सिर्जना सैंजुले प्रदेश राजधानी हुँदैंमा रातारात विकास नहुने भएकाले जहाँ कायम गरिएपनि प्रदेशका नागरिकलाई सेवा प्रवाहमो प्रदेश सरकारले प्राथमिकता दिनुपर्नेमा जोड दिए ।
केही सांसदले आफ्नै क्षेत्रमा राजधानी चाहिने छलफलमा माग गरे । सांसद रजनी अमात्यले भक्तपुर, कल्पना नेपालीले नुवाकोटमा राजधानी बनाउँनुपर्ने बताए ।
आजको प्रदेशसभामा १५ जना सांसदले आफ्नो धारणा राखेका हुन् । छलफलमा उठेका प्रश्नको समितिका संयोजक दीपक निरौलाले जवाफ दिएपछि भोलिलाई राजधानी तथा नामका लागि प्रस्ताव आव्हान गर्दै प्रदेशसभा बैठक स्थगित भएको हो ।