मकवानपुर लगायत देशभर माघे संक्रान्ति मनाइँदै, इन्द्रसरोवर गाउँपालिकामा बिदा
मकवानपुर । मकवानपुर लगायत देशभर आज माघे संक्रान्ति मनाइँदैछ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले माघ १ गतेलाई मकर (माघे) संक्रान्ति भनिन्छ ।
माघ १ गतेदेखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटो हुँदै जान्छन् । उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ । यसैले आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, बागमती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका स्थानमा माघ स्नान गर्ने भक्तजनको भीड लाग्छ ।
मकर संक्रान्तिमा बुधबार (आज) मकवानपुरका विभिन्न ठाउँमा मेला लागेको छ । तराईवासीले माघ १ लाई नहान अर्थात नुहाउने पर्वका रूपमा मनाउँछन् । विहानै तीर्थस्थलमा गई स्नान गरेर तिल दान गर्नाले सुन दान गरे सरहको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ ।
माघे सङ्क्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी आदि खाने चलन छ ।
बुधबार(आज) को माघे संक्रान्ति मनाउँन मकवानपुरको इन्द्रसरोबर गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ।
देशका प्रदेश १,२,गण्डकी,सुदुरपश्चिम र कर्णाली प्रदेशले यो पर्व मनाउँन सार्वजनिक बिदा दिएपनि मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाले मात्रै सार्वजनिक बिदा दिएको हो । गाउँपालिकाले मंगलबार विज्ञप्तिमार्फत सार्वजनिक दिने निर्णय भएको जानकारी दिएको हो ।