माघ १० देखि १६ गतेसम्म बागमती प्रदेशस्तरिय सहिद सप्ताह मनाइदै

मकवानपुर । मकवानपुरमा आगामी माघ १० गतेदेखि १६ बागमती प्रदेशस्तरिय सहिद सप्ताह मनाइने तयारी गरिएको छ ।
जिल्ला समन्वय समिति मकवानपुरमा मंगलबार पत्रकार सम्मेलनमार्फत सहिद सप्ताह अन्तर्गतका कार्यक्रमबारे जानकारी दिइएको छ ।
सप्ताहव्यापी कार्यक्रम अन्तर्गत माघ १० गते विहान ७ बजे सहिद सप्ताह शुभारम्भ पद यात्रा गर्दै सोही दिन ११ बजे मकवानपुरगढी दरबारमा २५७ औं विजय उत्सव मनाउने तयारी गरिएको छ ।
यस्तै, माघ ११ गते बिहान ८ बजे सहिद स्मारकमा बृहत रक्तदान कार्यक्रम, दिउँसो १२ः३० बजे कलेज स्तरीय वक्तृत्वकला प्रतियोगिता, माघ १२ गते जिल्लाका विभिन्न जातजातीको मौलिकता झल्कने विविध सांस्कृतिक कार्यक्रम गरिने भएको छ । माघ १३ र १४ गते दुई दिन नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानद्धारा कला सृजना कार्यशाला आयोजना गरिने छ भने माघ १४ गते राष्ट्रपति विद्यादेवी भण्डारीले हेटौंडा सहिद स्मारकमा निर्मित प्रजातान्त्रिक पार्कको उद्घाटन् गर्ने तयारी गरिएको जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख एवम् सहिद दिवश जनपरिचालन उपसमितिका संयोजक रघुनाथ खुलालले जानकारी दिए ।
सप्ताहव्यापी कार्यक्रम अन्तर्गत माघ १५ गते साहित्यिक गजल वाचन, माघ १६ गते मूल समारोह समितिले प्रभातफेरी तथा श्रद्धान्जली कार्यक्रम गर्नुका साथै सातै दिन स्थानीय कृषि उत्पादन प्रदर्शनी समेत तयारी गरिएको बैठकमा सहिद स्मारक विकास समितिका उपाध्यक्ष एवं कार्यक्रमका संयोजक रामेश्वर रानाले जानकारी दिए ।
पत्रकार सम्मेलनमा जिल्ला समन्वय समिति मकवानपुरकी उपप्रमुख भगवती पुडासैनी, समन्वय अधिकारी कपिलप्रसाद उपाध्याय, विभिन्न सरकारी कार्यालयका प्रमुख एवम् प्रतिनिधि, राजनैतिक दलका प्रतिनिधि, सामाजिक संघसंस्थाका प्रतिनिधिलगायतको उपस्थिती थियो ।
सहिद सप्ताहव्यापी सबै कार्यक्रमलाई भव्य रुपमा सफल बनाउँन जिल्ला समन्वय समिति मकवानपुरले सबैमा आग्रह गरेको छ ।