तामाङ समुदायमा २८५६ औं सोनाम ल्होसार मनाइदै

लोकखबर
१० माघ २०७६, शुक्रबार ०६:०२

मकवानपुर । आज (शुक्रबार) २८५६ औं सोनाम ल्होसार तामाङ समुदायले साँस्कृतिक महत्वका साथ मनाउँदैछन् ।

प्रत्येक वर्ष माघ शुल्क प्रतिपदाका दिन सोनाम ल्होसार मनाइन्छ । बौद्ध धर्मावलम्बीहरुले आजको दिनलाई आफ्नो सांस्कृतिक पर्वका साथसाथै नयाँ बर्षका रुपमा मनाउने गर्दछन् । यो पर्वमा विशेषगरी नेपालमा तामाङ जातिले सोनाम ल्होसारका अवसरमा कुलपूजा र प्रकृतिको पूजा गर्ने गर्दछन् । आज तामाङ समुदायमा छोरीचेलीलाई बोलाएर टिका लगाईदिने गरिन्छ । ‘ल्होछार’ शब्द ‘ल्हो’ अर्थात् वर्ष वा साल र ‘छार’ वा ‘सार’ अर्थात नयाँ भन्ने दुई शब्द मिलेर बनेको छ । त्यसैले ल्होसारको अर्थ ’नयाँ वर्ष वा नयाँ साल’ भन्ने बुझिन्छ । ल्होसार मनाउने समुदायमा ‘ल्हो’ अर्थात वर्षहरु बाह्रवटा हुन्छन् । ती बर्षका नामहरुलाई मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेंडा, बाँदर, चरा, कुकुर र सुँगुर जस्ता पशुपन्छी र जीवजन्तुका नामबाट राखिएको पाइन्छ । बाह्र वर्गका बर्षहरुलाई बाह्र राशीका रूपमा पनि लिने गरिन्छ ।

तामाङहरुका अलवा ल्होसार पर्व शेर्पा, गुरुङ, मगर, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा र लेप्चा लगायतका जातीले मनाउँदछन् । गुरुङले मनाउने ल्होसारलाई तोला ल्होसार, तामाङ लगायतका जातिले मनाउनेलाई सोनाम ल्होसार, शेर्पा र भोटे जाती लगायतले मनाउने ल्होसारलाई ग्याल्पो ल्होसार भनिन्छ । सोनाम ल्होसारका अवसरमा घर बस्तीहरु सफा गरी बुद्धका चित्रहरु अंकित ध्वजापताकाहरु टाँगेर बुद्धको पूजाअर्चना गरिन्छ । कतिपय ठाउँमा जात अनुसारका गाउँका लामा र मुखियाको उपस्थितमा सवैजना एकै ठाउँमा भेला भई नाचगान रमाईलो पनि गरिन्छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*