बाग्मती प्रदेशको राजधानी हेटौंडामा आजबाट सहिद सप्ताह

मकवानपुर । सहिद दिवसका अवसरमा मनाइने बाग्मती प्रदेशस्तरिय सप्ताहब्यापी कार्यक्रम आज (शुक्रबार) बाट मकवानपुरमा सुरु हुदैछ ।
आज विहान ७ बजे सहिद सप्ताहको शुभारम्भ पद यात्रा मार्फत सुरु गरिदैछ । बाग्मती प्रदेशका मुख्यमन्त्री एवम् सहिद स्मारक विकास समितिका अध्यक्ष डोरमणि पौडेलको समेत उपस्थितीमा हेटौंडाको बुद्धचोकबाट सुरु हुने पदयात्रा हेटौंडा ११, सहिद स्मारकमा गएर सम्पन्न गर्ने तयारी छ ।
आजै मकवानपुरगढी दरबारमा २५७ औ विजय उत्सव मनाउँदै मुख्यमन्त्री पौडेलले झण्डात्तोलन गर्नुका साथै सेतो हात्तिाको मुर्ती अनावरण गर्ने कार्यक्रम रहेको छ । सप्ताहव्यापी कार्यक्रम अन्तर्गत माघ ११ गते विहान ८ बजे सहिद स्मारकमा रक्तदान, दिउँसो १२ः३० बजे कलेजस्तरिय वक्तृत्वकला प्रतियोगिता, माघ १२ गते जिल्लका विभिन्न जातजातीको मौलिकता झल्कने विविध सांस्कृतिक कार्यक्रम, माघ १३ र १४ गते दुई दिन नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानद्धारा कला सृजना कार्यशाला आयोजना गर्ने तयारी छ । यस्तै, माघ १४ गते राष्ट्रपति विद्यादेवी भण्डारीले सहिद स्मारकमा निर्मित प्रजातान्त्रिक पार्कको उद्घाटन गर्ने कार्यक्रम छ ।
माघ १५ गते साहित्यिक गजल वाचन र माघ १६ गते मूल समारोह समितिद्धारा प्रभातफेरी तथा श्रद्धान्जली कार्यक्रम गरी सहिद सप्ताहको कार्यक्रम समापन गर्ने आयोजकले जनाएको छ ।
सहिद सप्ताहसंगसंगै नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउँन आयोजकले मकवानपुरबासीलाई आग्रह गरेको छ ।