यसरी मनाउँदैछ रेडियो मकवानपुरले वार्षिकोत्सव

सम्मान, अन्तरक्रिया, खेल र स्वास्थ्य शिविरसम्मका कार्यक्रम
लोकखबर
१२ माघ २०७६, आईतवार २०:२९

मकवानपुर । मकवानपुरको हेटौंडाको पहिलो सामुदायिक रेडियो, रेडियो मकवानपुर १०१ दशमलव ३ मेगाहर्जको दशौं वार्षिकोत्सव तथा रेडियो संचालक संस्था दिव्यतारा बहुउद्घेश्यीय सहकारी संस्थाको २२ औं वार्षिकोत्सवमा अन्तरक्रिया, खेल तथा स्वास्थ्य शिविजस्ता कार्यक्रम हुने भएका छन् ।

आज (आइतबारं) पत्रकार सम्मेलनमार्फत यही माघ १५ गतेदेखि १९ गतेसम्म विभिन्न कार्यक्रम गरी वार्षिकोत्सव मनाउँने तयारी गरिएको रेडियो संचालक सहकारीका अध्यक्ष महालक्ष्मी उपाध्याय डिनाले जानकारी दिइन् ।

अध्यक्ष डिनाका अनुसार माघ १५ गते ‘मिडिया र सहकारीको सम्बन्ध’ विषयक अन्तरक्रिया, १६ गते सहकारी सम्बन्धी अन्तरमावि स्तरिय कविता प्रतियोगिता र हेटौंडा ८, कमानेमा दिव्यतारा सहकारीको शाखा कार्यालय उद्घाटन, १७ र १८ गते रेडियो मकवानपुर कप फुटसल प्रतियोगिता, १८ गते मनहरी गाउँपालिकाको वडा १ मकरीमा निशुल्क स्वास्थ्य शिविर र १९ गते पुरस्कार वितरण सहित वार्षिकोत्सवको समारोह समापन कार्यक्रम हुनेछ ।

पुरस्कार वितरण सहितको वार्षिकोत्सव समापन समारोहमा नेपाली कांग्रेसका मुख्य सचेतक बालकृष्ण खाँडको उपस्थिती रहने अध्यक्ष डिनाले जानकारी दिइन् ।

वार्षिकोत्सवका अवसरमा रेडियोले हरेक वर्ष दुई जनालाई प्रदान गर्दै आइरहेको ‘सामुदायिक सम्मान’ लाई यो पटक पनि निरन्तरता दिने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । ‘सामुदायिक सम्मान २०७६’ बाट दुई जना नगद १० हजार रुपैंया सहित सम्मानित हुनेछन् । यस्तै, रेडियो मकवानपुरमा कार्यरत एकजना कर्मचारी ‘उत्कृष्ट वर्ष कर्मचारी सम्मान’ पुरस्कृत हुनेछन् ।

पत्रकार सम्मेलनमा रेडियो संचालक समितिका अध्यक्ष आनन्दराम पराजुली, सदस्य विष्णु खनाल, रेडियोका स्टेशन म्यानेजर गणेशदर्पण अधिकारी, कांग्रेस नेता यतिराज सापकोटा, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाई, सहकारीका व्यवस्थापक रमेश कोइराला लगायतको उपस्थिती थियो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*