सहिद स्मारकमा राष्ट्रपति भण्डारीको यस्तो छ भोलिको सेड्युल

मकवानपुर । मकवानपुरको हेटौंडाको सहिद स्मारकमा राष्ट्रपति विद्यादेवी भण्डारी आउँने कार्यक्रमको तयारी पूरा भएको छ ।
सहिद सप्ताह मूल समारोह समितिका संयोजक एवं स्मारक विकास समितिका उपाध्यक्ष रामेश्वर रानाले आज स्मारकमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति हेटौंडा आउँनका लागि आवश्यक सबै तयारी पूरा गरिएको जानकारी दिए ।
राष्ट्रपति भण्डारीले सहिद स्मारकमा निर्मित प्रजातान्त्रिक पार्क उद्घाटन गर्ने कार्यक्रम छ । पार्कमा निर्मित नेपाली कांग्रेसका संस्थापक नेता तथा पहिलो जननिवार्चित प्रधानमन्त्री वीपी कोइराला, लौहपुरूष गणेशमान सिंह,नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठ र पहिलो जननिर्वाचित कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको शालिक अनावरण गर्ने कार्यक्रम छ ।
यस्तै, राष्ट्रपति भण्डारीले स्मारक विकास समितिको रजत जयन्ती स्तम्भ पनि अनावरण गर्ने कार्यक्रम छ । राष्ट्रपतिले मदन भण्डारीको शालिकमा माल्यार्पण पनि गर्नेछिन् । कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराई पनि कार्यक्रममा सहभागी हुने जनाइएको छ ।
सहिद दिवसको सन्दर्भ पारेर बागमती प्रदेशको राजधानी हेटौंडामा माघ १० गतेदेखि १६ गतेसम्मका लागि विभिन्न कार्यक्रमहरु भइरहेका छन् ।