अजिता भुजेलको हत्यारालाई पक्राउ गरी कारवाही गर्न काठमाडौंमा खबरदारी

लोकखबर
१३ माघ २०७६, सोमबार २१:०८

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५, क्याम्पाडाँडामा हत्या गरी फालिएको अवस्थामा फेला परेकी तेस्रो लिंगी अजिता भुजेलको हत्यारा पत्ता लगाउँन माग गरिएको छ । आज(सोमबार) काठमाडौंमा पत्रकार सम्मेलनमार्फत भुजेलको हत्यारा पत्ता लगाउँन माग गरिएको हो ।

रिपोर्टर्स क्लब नेपालमा समाज र वुमन एक्टले संयुक्त रूपमा पत्रकार सम्मेलन गर्दै दोषीलाई कानुनी कारबाही नगरे आन्दोलन गर्ने चेतावनीसमेत दिइएको छ । समाजकी अध्यक्ष पिंकी गुरुङले भुजेलको हत्यामा संलग्नलाई कानुनी कारबाहीको दायरामा ल्याएरै छाड्ने दृढता व्यक्त गरिन् । उनले सबैलाई सहयोगको आग्रहसमेत गरिन् । दोषी जो भएपनि र जहाँसुकै भए पनि पक्राउ गरी कारबाहीको दायरामा ल्याउन सहयोगका लागि पत्रकार सम्मेलनमार्फत आग्रह पनि गरिएको छ । भुजेलको शव हेर्दा बलात्कारपछि हत्या गरिएको देखिन्छ भन्दै दोषी कुनै हालतमा उम्कन नपाउन् भनिन् । पीडितको कोठाबाट सुनका गहनासमेत हराएकाले लुटपाट पनि भएको हुनसक्ने उनले आशंका व्यक्त गरेकी छिन् ।

भुजेलले सम्पत्ति र रकम लेनदेनको विषयबारे अध्यक्ष गुरुङसँग घटनाको अघिल्लो रात कुराकानी गरेको समेत खुलाइन् । उनले भनिन्, ‘एकजना व्यक्तिले १० लाख मागेको छ उसको जग्गाको कागज दिन्छ रे भनी सोध्दा मैले नदिनू भर हुन्न भन्ने सुझाव दिएकी थिएँ ।’

पोस्टमार्टमको रिपोर्टअनुसार उनको टाउकोमा गहिरो चोट लागेको र घाँटीमा फाँसी दिएको जस्तो घाउ भएको उनले सुनाइन् ।

वुमन एक्टकी अध्यक्ष सिर्जना अधिकारीले दोषीमाथि कडा कारबाहीको माग गरिन् । तेस्रो लिंगी भएकै आधारमा अजिताले निकै समस्या भोग्नुपरेको र ज्यानसमेत दिइएको भन्दै दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याएरै छाड्नुपर्ने बताइन् । उनले भनिन्, ‘दोषी उम्कन नपाओस् ।’ दोषी कारबाहीका लागि सबै क्षेत्रबाट सहयोगको अपेक्षा गरिएको बताइन् ।
भुजेल हत्याको आशंकामा मकवानपुर प्रहरीले अहिले अनुसन्धान गरिरहेको छ । शंका लागेका पाँच जना व्यक्तिलाई पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले बताएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*