‘मुलुककै राजनीतिक पर्यटकीय केन्द्रका रुपमा स्मारक विकास हुदै गएको छ’
मकवानपुर । राष्ट्रपति विद्यादेवी भण्डारीले मकवानपुरको हेटौंडामस्थित सहिद स्मारक नयाँ पुस्तामा राष्ट्रियताको जर्गेना गर्न, देशभक्तिको भावना जागृत गर्न, लोकतन्त्रको सम्बर्धन र प्रर्बधन गर्नका लागि महत्वपूर्ण हुने बताएकी छिन् ।
मंगलबार (आज) सहिद स्मारकमा निर्मित प्रजातान्त्रिक पार्क उद्घाटन गर्दै राष्ट्रपति भन्डारीले सहिदहरुको बारेमा अध्ययन अनुसन्धानको साझा थलोका रुपमा स्मारक विकास भएकोमा खुशी व्यक्त गरिन् । स्मारकको विकासका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै राष्ट्रपति भण्डारीले स्मारक विकास समितिका अध्यक्ष एवम् बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको प्रसंशा गरिन् । ‘स्मारकको विकासका लागि अध्यक्ष एवम् बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको महत्वपूर्ण भूमिको प्रसंशा गर्दै उद्यान समिति प्रति हार्दिक धन्यवाद ज्ञापन गर्न चाहान्छु ।’ उनले भनिन् । साथै राष्ट्रपति भण्डारीले स्मारकलाई थप सुदृढिकरणका लागि पनि आग्रह गरिन् ।
उनले सहिदको अविष्मरणीय एवं अतुलनीय योगदानदाई चिरस्थायी बनाउँने काममा स्मारकको योगदान हुने विश्वास गर्दै सफलताको कामना पनि व्यक्त गरिन् । ‘महान सहिदको अविस्मरणीय एवम् अतुलनीय योगदानलाई चिरस्थायी तुल्याउँने उद्देश्यका साथ सहिद स्मारक हेटौंडाले जनसहभागितामा स्थापित स्मारकको सफलताको कामना गर्दछु ।’ उनले भनिन् ।
राष्ट्रपति भण्डारीले नेपालको राष्ट्रियताको सम्बर्धन तथा लोकतान्त्रिक आन्दोलनका वैचारिक नेतृत्व प्रदान गर्ने मुर्धन्य व्यक्तित्वहरुको पूर्ण कदको प्रतिमा एवम् अमर सहिदका शालिकहरु उद्यानमा स्थापित गरिएकाले राजनीतिक वैचारिक नेतृत्वप्रति चासो एवम् श्रद्दा , सहिदहरुप्रति सम्मान र राष्ट्रिय एकताप्रति सुदृढ विश्वासको भावना जागृत हुने पनि विश्वास व्यक्त गरिन् ।
उनले पवित्र बाग्मती सभ्यता र यसक्षेत्रको साझा धरोहरलाई आत्मसात गर्दै प्रदेशसभाले यस प्रदेशको नाम बागमती प्रदेश राख्ने निर्णय गरेकोमा पनि खुशी लागेको व्यक्त गरिन् । उनले प्राकृतिक तथा सांस्कृतिक सम्पदाको दिगो उपयोग गर्दै समृद्घ नेपाल, सुखी नेपाली निर्माण गर्ने लक्ष्य साकार पार्न प्रदेश सरकार सफल हुने अपेक्षा पनि सम्बोधनमा व्यक्त गरिन् ।
राष्ट्रपति भण्डारीले पर्यटन प्रबद्र्घनका लागि हेटौंडामा भौतिक पूर्वाधारण निर्माणमा ध्यान दिनुपर्ने उल्लेख गरिन् । ‘देशको महत्वपूर्ण भागमा रहेको हेटौंडाले आन्तरिक आवागमन तथा पर्यटन प्रबद्र्घनमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको सन्दर्भमा यहाँको भौतिक पूर्वाधारमा थप ध्यान दिनुपर्दछ भन्ने मलाई लागेको छ ।’ उनले भनिन्,‘प्रदेश राजधानी हेटौंडामा अवस्थित यो उद्यान सुन्दर पर्यटकीय गन्तव्यका रुपमा विकास हुदै गएकोमा मलाई असाध्यै खुसी लागेको छ । ’
राष्ट्रपति भण्डारीले प्रदेशमा थप पर्यावरणीय मैत्री संरचना विस्तार गर्नका लागि पनि आग्रह गरिन् । उनले स्वास्थ्य तथा शिक्षाको विकासमा लागिपर्न प्रदेश सरकारलाई आग्रह पनि गरिन् । ‘जनस्वास्थ्यलाई ध्यानमा राखेर स्वच्छ वातावरण प्रबद्र्घन गर्दै सुविधायुक्त स्वास्थ्यकेन्द्र र गुणस्तरिय शैक्षिक संस्थाहरु विस्तार गर्न पनि प्रदेश सरकारको ध्यानाकर्षण गराउँन चाहान्छु । ’ उनले भनिन् ।
उनले मुलुकमा उत्पादित विद्युतीय उर्जालाई सदुपयोग गर्न सुदृढ विद्युत प्रशारणका साधन तथा उपकरणहरु प्रबद्र्घन गर्नुपर्ने खाँचो रहेको आफूले महसुस गरेको बताइन् । यस क्षेत्रका पवित्र नदी, सिमसार, तालतलैया तथा पोखरीको संरक्षण गर्दै पानीको संरक्षण गर्नका लागि सम्बन्धित पक्षलाई आग्रह पनि गरिन् ।
आफूले सहिद स्मारकको पटक पटक अवलोकन गरेको भन्दै राष्ट्रपति भण्डारीले स्मारक मुलुकको एउटा राजनीतिक पर्यटकीय केन्द्रका रुपमा समेत विकसित हुदै गएको बताइन् । यसमा थप सुदृढिकरणका लागि पनि उनले शुभकामना व्यक्त गरिन् ।
मुलुकमा हासिल भएको ऐतिहासिक उपलब्धिलाई आत्मसात गर्दै नेपाल सरकारले सहिदको सम्मानमा विविध रचनात्मक कृयाकलापहरु सञ्चालन गर्दै आएको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले सहिदहरुप्रति आस्था र सम्मान जगाउँदै मुलुककै एक उत्कृष्ट पर्यटकीय गन्तव्यका रुपमा उद्यानलाई विकास गर्न स्मारक विकास समितिले निर्वाह गरेको भूमिकाको प्रसंशा गरिन् ।