सहिदस्मारकमा राष्ट्रपतिले गरिन् विभिन्न व्यक्तित्वलाई सम्मान

मकवानपुर । मकवानपुरको हेटौंडा ११, सहिद स्मारकमा १२ जना सहिदको मुखाकृति कोर्ने कलाकार सम्मानित भएका छन् ।
सहिद दिवस सप्ताह तथा सहिद स्मारक रजत जयन्तीका अवसरमा आज (मंगलबार) स्मारकमा आयोजित विशेष समारोहमा कलाकारहरु कमलेश महर्जन, गोविन्द चौधरी र पृथ्वी श्रेष्ठलाई प्रमुख अतिथी राष्ट्रपति विद्यादेवी भण्डारीले सम्मानित गरेकी हुन् ।
समारोहमा सहिद स्मारकका व्यवस्थापन प्रमुखका रुपमा जिम्मेवारी निर्वाह गरेकोमा सहिद स्मारक दीर्घसेवा सम्मानबाट रामचन्द्र न्यौपाने सम्मानित भए भने सहिद स्मारक निर्माणको पहिलो उपभोक्ता समितिका अध्यक्ष हरिशरण सुवेदीलाई पनि सम्मान गरिएको छ ।
समारोहकै बिच ‘सहिद स्मारक दर्पण’ नामक स्मारिका लोकार्पण पनि गरिएको छ ।
स्मारक विकास समितिका अध्यक्ष एवम् बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेश प्रमुख विष्णु प्रसाई, सभामुख सानुकुमार श्रेष्ठ, प्रदेशका प्रमुख प्रतिपक्षी दलका नेता इन्द्रबहादुर बानिया, प्रदेशका मन्त्रीहरु, संविधानसभाका सदस्य, जिल्ला समन्वय समितिका प्रमुख, उप उपप्रमुख, विभिन्न स्थानीय तहका प्रतिनिधी लगायतको आतिथ्यता थियो ।