आज सहिद दिवस, हेटौंडाको स्मारकमा सहिदप्रति श्रद्दान्जली अर्पण गरिदै

लोकखबर
१६ माघ २०७६, बिहीबार ०७:२३

मकवानपुर । आज (विहीबार) माघ १६ गते । देश र जनताको हित र अधिकारका लागि जीवन त्याग गर्ने सहिदप्रति सम्मान गर्दै मकवानपुर लगायत देशभर सहिद दिवस मनाइँदै छ ।

नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन जहानिया राणा शासन, निरंकुश पञ्चायती व्यवस्था तथा तानाशाही राजतन्त्रविरुद्द प्रजातान्त्रिक क्रान्ति एवं लोकतान्त्रिक जनआन्दोलनहरूमा आफ्नो जीवनको आहुती गरेका वीर सपूतहरूको सम्झना गरी सहिद दिवस मनाइदैछ ।

वीर सहिद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठको संघर्षमय जीवन र बलिदानको गाथा र प्रजातान्त्रिक आन्दोलनका अरू योद्दाहरुको योगदानको सम्मानमा सहिद दिवस मनाइन्छ । देशका विभिन्न समयमा भएका आन्दोलनमा होमिएर राष्ट्रका लागि वीरगति प्राप्त गरेका सहिदको साहस र त्यागको पनि लेखाजोखा र उच्च मूल्यांकन गर्दै माघ १६ लाई सहिद दिवशको रुपमा मनाउने गरिएको हो । विसं १९९७ माघ १० गते निरंकुश राणा शासनविरुद् नेपाल प्रजापरिषद् स्थापना गरी जनतालाई आफ्नो हक र अधिकारका लागि क्रान्ति गर्न प्रेरित गर्ने शुक्रराजलाई टेकुस्थित खरीको रूखमा झुन्डयाएर हत्या गरिएको थियो । यस्तै, सोही वर्ष माघ १३ गते सिफलमा धर्मभक्तलाई झुन्ड्याइएको थियो भने माघ १५ गते दशरथ चन्द र गंगालाललाई शोभा भगवतीमा गोली हानी हत्या गरिएको थियो ।

बागमती प्रदेशको राजधानी हेटौंडामा यही माघ १० गते विभिन्न कार्यक्रम गरी सहिद सप्ताह मनाइएको थियो । सहिद सप्ताहको आज माघ १६ गते अर्थात् सहिद दिवसका दिन भव्य कार्यक्रम गरी समापन गरिदैंछ । आज (विहीबार) पूर्वपश्चिम राजमार्गमा रहेको सहिद स्मारकको गेटबाट प्रभात फेरी सुरु भएर हेटौंडा ११ स्थित सहिद स्मारकमा पुगेर सहिदहरु प्रति श्रद्दान्जली अर्पण गरिदैछ । सहिदप्रति श्रद्दान्जली अर्पण गरेपछि स्मारकमा कोणसभा आयोजना गर्ने तयारी गरिएको छ । सहिद सप्ताह समापन तथा सहिद दिवस विशेष समारोहमा बागमती प्रदेशका प्रदेश प्रमुख विष्णु प्रसाईं, मुख्यमन्त्री डोरमणि पौडेल, सभामुख सानुकुमार श्रेष्ठ, प्रदेश सरकारका मन्त्रीहरु लगायतको आतिथ्यता रहने जानकारी दिइएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*