हेटौंडामा पत्नीबाट पीडितको यस्तो कथा
मकवानपुर । हेटौंडा २ वनस्खण्डीका सुदिप बस्नेत (नाम परिवर्तित) २०७४ साल जेठ ७ गते विवाह बन्धनमा बाधिए । सुखी परिवारिक जीवन बिताउने सपना देखेर मागी विवाह भएको ४ दिनमा नै चक्नाचुर भयो ।
विवाह भएको हाल दुई वर्ष बितिसक्दा उनी आफ्नो श्रीमतीसँग न्युनतम २० दिन बसे । तर त्यो २० दिन उनको मानसिक रुपमा कठिन समय भयो । परिवारिक सहमति र केटाकेटी दुवैको मञ्जुरीमा विवाह भएको चौथौ दिनबाटै उनीहरुमा असमझदारी सुरु भयो । साना–साना कुराले बढाएको झगडाले आज उनीहरुको सम्बन्धले अदालतको फैसला पर्खिरहेको छ । बिहे भएको चौथो दिनमै नै श्रीमतीसँग पहिलो झगडा भएको सम्झदै बस्नेतले भने ‘पानी परेको मौसम थियो, मैले चिसो भयो पंखा सानो बनाउ भनेको थिए । उनले श्रीमानले मलाई हिंसा गर्या भनेर गाँउको सबैलाई बोलाईन् , म छागाँबाट खसे जस्तै भएँ ’।
सानो कुरामा निहुँ खोज्दै श्रीमान्ले हिंसा गर्याे भनेर श्रीमती पुलिसकोमा पुग्दा कयौ पटक आफू हिरासतमा पुग्नु परेको बस्नेतले बताए । ‘विवाह गरेर जीवनलाई स्वर्ग बनाउने देखेका थिए तर जीवन नर्क बनिदियो ’। उनले थपे । विवाह पश्चात उनी त्यो गल्तीको कारण जेल गए , जुन गल्ती उनले गरेकै थिएनन् । ‘महिलाले बोलेपछी गलत नै बोलेपनी सही हुने रहेछ , के सही के गलत भनेर बुझ्नेभन्दा पनि को महिला को पुरुष भनेर हेरिने रहेछ ।’ बस्नेतले भने । बस्नेतले बस्दै नबसेको घर उजाड्नको लागि श्रीमतीले अदालतमा एक करोड रुपैयाँ माग गरेको भन्दै दुखेसो पोखे । सामान्य व्यवसाय गर्ने उनको नाममा केही जग्गा भएपनि ऋणपनि भएको भन्दै एक करोड दिन सक्ने क्षमता नभएको बस्नेतको भनाई छ । बस्नेतले नेपालको कानूनले महिलालाई धेरै अधिकार र पुरुषलाई पिडित बनाएको बताए ।
सोही वडाका देव थापा ( नाम र परिवर्तित ) को १३ वर्षको सम्बन्धले पनि अदालतको आदेश पर्खिरहेको छ । लामो समय प्रेम सम्बन्धमा बसेर १३ वर्ष अगाडी अन्तरजातीय विवाह गरेका थापाको दम्पती गत एक वर्ष देखी सम्बन्ध बिच्छेदको प्रक्रियामा छन् । उनीहरुको १० वर्षिय छोरो पनि छ । तर श्रीमतीले अत्याधिक मादक पदार्थ सेवन गरी दैनिक रुपमा झैझगडा गरेको भन्दै देवले सम्बन्ध बिच्छेदको मुद्धा दर्ता गरेका थिए । पछिलो ५ वर्षदेखि श्रीमतीले अत्याधिक रुपमा मादक पदार्थ सेवन गरी बालक छोरालाई पनि मानसिक रुपमा तनाव दिएकोले बाध्य भएर अदालत पुगेको उनको भनाइ छ । उनले नयाँ कानून लागू भएपश्चात महिलाले मुदा हाल्दा सम्पति नपाउने र पुरुषले हाल्दा दिनुयर्ने व्यवस्था भएकाले उनलाई मुद्दा हाल्न थप बाध्य बनाएको बताए । दैनिक झगडा, तोडफोडजस्ता गतिविधिबाट पीडित भएर आफुले मुद्दा हालेको बताए । उनले श्रीमतीको व्यवहारले गर्दा उनीहरुको छोरा आमासँग बस्न नचाहेको बताए । थापाले पीडित आफू भएपनि आफैसँग डेढ करोड रुपैया माग गरिएको भन्दै नेपालको कानूनप्रति असन्तुष्टी जनाए । ‘पुरुषले पनि सम्बन्ध बिच्छेदको लागि मुद्दा हाल्न सक्ने बनायो तर को पीडित छ भनेर नहेरिने रहेछ । आफूसँग भएको भन्दा धेरै सम्पती माग भएको छ । ’ उनले भने ।
थापाले सम्पतीको लागि पुरुषले मुद्दा हालोस् भनेर मानसिक तनाव दिएको बताए । थापाले कानूनले सही गलत हेर्न नखोजेको भन्दै महिलालाई बढी अधिकार दिदा पुरुष पीडित बनेको बताए । बस्नेत र थापा जस्तै श्याम सुवेदीको पनि हालत उही छ । १२ वर्षअघि विवाह गरी २ छोराको बुवा भएको सुवेदी पनि अदालतको निर्णयलाई पर्खिरहेका छन् । दुवै छोराको जिम्मेवारी सम्हालिरहेका उनीसँग पनि अत्याधिक मात्रामा सम्पती माग भएको उनको भनाइ छ ।
उच्च अदालत हेटौंडा पाटनकी अधिवक्ता अप्सरा बस्नेतले कानूनलाई मानिसले आफ्नो आवश्यकता अनुसार चलाइरहेको बताइन् । उनले समाजका वास्तविक पीडित न्यायको माग गर्दै कानून मातहत नआएको र चलाख मान्छेहरुले आफू अनुकुल हिसाबलाई उपयोग गरेको बताए । बस्नेतले पछिल्लो समय पीडित पुरुषहरु पनि न्यायको माग गर्दै अदालत आउने गरेको भएपनि न्यायले महिलालाई कमजोर ठान्ने हुँदा महिलाको पक्षमा निर्णय हुने रहेको बताए ।
‘धेरै महिलाहरु पीडित हुनुहुन्छ । उँहाहरुले न्याय नपाइरहेको अवस्था पनि छ । तर पुरुषहरु पनि पीडित हुँदाहुदै पनि उहाँहरुको विपक्षमा निर्णय भएको घटना पनि छ ।’ उनले भनिन् । बस्नेतले कानूनले लिखित प्रमाणलाई मात्रै आधार मान्दा वास्ताविक पीडितले न्याय पाउन नसकेको बताइन् । उनले कानूनले व्यवहारिक पक्षलाई पनि हेर्दै सत्यतथ्यको छानबिन गरेर मात्रै फैसला गनुपर्नेमा जोड दिइन् । उनले मनिन् ‘महिला पीडित हुँदा हुँदै पनि माना चामलमा केही नपाएको अवस्था पनि छ र महिलाले पुरुषलाई पुरुषबाट नै अंश लिईरहेको अवस्था पनि छ ।
यो खबर हामीले आज (विहीबार) प्रकाशित साझाकुरा दैनिकबाट साभार गरेका हौं ।