मुक्तीश्री ग्रुपलाई उपाधि

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर १ मा सम्पन्न दोस्रो रिभर साइड क्रिकेट प्रतियोगितामा मुक्तीश्री ग्रुपले उपाधि जितेको छ ।
मकवानपुर क्रिकेट एकेडेमीको आयोजना तथा मकवानपुर क्रिकेट संघको संचालनमा प्रतियोगिता आयोजना भएको हो ।
मुक्तीश्रीले निब्टालाई पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको हो । निब्टाले दिएको २३ रनको लक्ष्यलाई अन्तिम ओभरमा २४ रन बनाउँदै मुक्तीश्री विजयी भएको हो । प्रतियोगितामा राम नरेश गिरी म्यान अफ द सिरिज, राजीव यादव बेस्ट बलर र रमेश उपाध्याय बेस्ट ब्याट्सम्यान घोषित भए ।
उपाधि जितेको मुक्तीश्रीले नगद ३० हजार र उप विजेता निब्टाले नगद १५ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।प्रतियोगितामा ८ टिमले भाग लिएका थिए ।
भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले प्रतियोगिता उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ का अध्यक्ष सविन न्यौपाने, मुुक्तीश्री ग्रुपका संचालक अरुणराज सुमार्गी, खेलकुद संघ मकवानपुरका अध्यक्ष सानु लामा, सुमन भोम्जन स्मृती प्रतिष्ठानका अध्यक्ष भेष खड्गी लगायतको आतिथ्यता थियो ।