१७ वर्षीया किशोरीलाई बन्धक बनाएर राज्यमन्त्रीका सल्लाहकारले गरे बलात्कार
मकवानपुर । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरका आर्थिक सल्लाहकार अमृतकुमार घलेले बन्धक बनाएर १७ वर्षीया किशोरीलाई बन्धक बनाएर बलात्कार गरेको खुलेको छ। ५२ वर्षका घलेले किशोरीलाई आफ्नो कोठामा चार दिन बन्धक बनाएर बलात्कार गरेको भन्ने सूचना पाएपछि गत फागुन १ गते प्रहरीले पक्राउ गरेको थियो।
सिन्धुलीकी ती किशोरी काठमाडौंमा आफ्नी दिदीसँग बस्थिन्। कक्षा १२ मा अध्ययनरत ती किशोरी आफ्नो घर सिन्धुली गएकी थिइन्। तर घरबाट फर्कनेबेला बनेपाबाट ती किशोरीलाई अमेरिका लगिदिन्छु भन्दै त्यहाँबाट अमृतले आफ्नो मोटरसाइकलमा काठमाडौं ल्याए।
पछि उनले टोखास्थित आफ्नो फ्ल्याटमा बन्धक बनाई बलात्कार गरेको खुलेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले सेतोपाटीलाई जानकारी दिए।
‘सिन्धुलीबाट फर्कने क्रममा ती किशोरीलाई अमेरिका लगिदिन्छु भन्दै आफ्नो कोठामा ल्यायो,’ डिएसपी बोगटीले सेतोपाटीसँग भने, ‘चार दिन बन्धक बनाएर बलात्कार गरेको भन्ने किशोरीले बताएकी छिन्।’
ती किशोरीले आफ्नो परिवारलाई गोप्य रूपमा बन्धक बनाएर बलात्कार भएको जानकारी गराएपछि परिवारले प्रहरीलाई खबर गरेको थियो।सेतोपाटी डटकमबाट