भेटियो गिद्धको नयाँ प्रजाति

लोकखबर
१७ फाल्गुन २०७६, शनिबार ११:४५

मकवानपुर । प्रकृतिको कुचिकार मानिएको गिद्धको नयाँ प्रजाति जाजरकोटमा फेला परेको छ ।

समुद्र सतहदेखि एक हजार ७०० मिटरको उचाइ रहेको वारेकोट गाउँपालिका–१ आग्रखोलामा राज नाम गरेको एक जोडी गिद्ध भेटिएको हो ।

जाजरकोटमा चरा, अन्य लोपोन्मुख जन्तुको संरक्षण तथा खोजीमा क्रियाशील गोविन्दबहादुर सिंहका अनुसार बारेकोट गाउँपालिकाको जंगलमा भेटिएको गिद्ध विश्वकै लोपोन्मुख चराका रूपमा रहेको छ ।

अरूभन्दा फरक गुण र स्वभाव गरेको यो राजगिद्ध नेपालको तराई भेगमा पाइने भए पनि जाजरकोटमा यसको वासस्थान रहेछ भन्ने प्रमाणित भएको सिंहले बताए । राजगिद्ध अरूको मुखको सिनो पनि खोसेर खाने तथा सिनो खाइरहेको अवस्थामा कुनै पनि गिद्धले यसलाई आक्रमण गर्न नसक्ने स्वभाव भएको चराका रूपमा लिने गरेको उनले जानकारी दिए ।
यसअघि जाजरकोटलाई बासस्थान बनाएका सेतो, हाडफोर, सुन र हिमाली गिद्ध गुँडसहित भेटिएका छन् । पछिल्लो समयमा सिमलको रूख विनाश तथा सिनोमा विषादी मिसिएकाले यसको सङ्ख्या घट्दो रहेको पक्षी विज्ञको भनाइ छ ।

गिद्ध संरक्षणका लागि आहारको व्यवस्थापन र सिमलका रूखको संरक्षण गर्नुपर्ने उनीहरूको सुझाव छ । यहाँको वनस्पति र जीवजन्तुको उचित संरक्षणमा राष्ट्रियस्तरको कार्यक्रम बन्न जरुरी रहेको गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले बताए ।

उनले गाउँपालिकास्तरबाट हुने कार्यक्रम सानो हुने र केन्द्रीयस्तरबाट नै महत्वसाथ जाजरकोटमा पाइएका, पाइन सक्ने जीवजन्तु, चराको खोजी र संरक्षणमा पहलको खाँचो रहेको बताए । यहाँ विश्वकै दुर्लभ जनावर रेडपाण्डा, दुर्लभ पक्षी चिरकालिजलगायत अन्य जीवजन्तु पाइएका छन् ।

स्थानीय जनता, सरकार र सरोकारवालाले जाजरकोटको जैविक विविधता, यहाँ भेटिएका विश्वकै दुर्लभ पक्षी, जनावर बचाउन तथा यसको वृद्धि गरेर विश्वलाई नै सन्देश दिन सकिने पक्षी, जनावरको खोजी तथा संरक्षणकर्ता सिंहले बताए ।

उनले सबैको चासो हुने हो भने जाजरकोट महत्वपूर्ण दुर्लभ पक्षी तथा जनावरको पर्यटकीय गन्तव्य बन्न सक्ने बताए ।

लोपोन्मुख पक्षी तथा जनावरको संरक्षणका लागि जाजरकोटका स्थानीय तहले खासै पहल नगरेको पाइएको छ ।

वन तथा वातावरण मन्त्रालयले बारेकोट गाउँपालिका, नलगाड नगरपालिका र कुशे गाउँपालिकालाई विशेष संरक्षित क्षेत्र घोषणा गर्न अध्ययन कार्य पूरा गरेको छ ।लोकान्तर डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*