महभीर झरनाको आकर्षणमा रमाउँदै नेपाली पर्यटकहरु

लोकखबर
१७ फाल्गुन २०७६, शनिबार १२:०२

मकवानपुर । अग्लो पहाडको टुप्पोबाट तल जमिनतिर छङ्छङ आवाज निकाल्दै बग्ने गर्छ झरना । झरनादेखि केही मिटर टाढाबाट भिरालो पहाडमा लडिबडी खेल्दै बगेको झरनालाई एकोहोरो हेरिरहँदा शीरको टोपी र पछ्यौरी खसेको पत्तो हुँदैन । झरनासँगैको हरियाली रमणीय दृश्यमा आँखा घुमाउन पाउँदा निकै आनन्द आउँछ । अझै झरनाको पानीमा डुबुल्की मार्दा झन् कति आनन्द लाग्दो हो १

यस्तोखाले आकर्षण भएको झरना उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७, हिस्तानमा पर्दछ । यसलाई हिस्तानको महभीर झरना भनिन्छ । पर्यटकीय आकर्षण र सम्भावना बोकेको महभीर झरनाले हिजोआज पर्यटकहरुको ध्यान तानेको छ ।

हिमालपारीको जिल्ला मुस्ताङलाई जोड्ने राष्ट्रिय राजमार्ग बेनी–जोमसोम–कोरला सडक नजिकै रहेको यस झरनाले आन्तरिक तथा बाह्य पर्यटकलाई लोभ्याएको हो । निकै आकर्षक, सुन्दर र मनमोहक झरना पहाडको माथिबाट कलकल गर्दै बग्छ ।

महभीर झरना पछिल्लो समय स्वदेशी तथा विदेशी पर्यटकहरुको मुख्य रोजाइमा पर्न थालेको छ । म्याग्दी सदरमुकाम बेनीबजारदेखि २ घण्टाको यात्रामा महभीर झरनामा पुगिन्छ । बेनी–जोमसोम सडकको नजिकै पर्ने भएकाले झरनामा प्रायः पर्यटकहरु सवारीसाधन रोकेरै जाने गरेका छन् । पहिलेको समयदेखि नै प्राकृतिक रुपमा रहेको यस झरना कञ्चन र सफा छ ।

पछिल्लो समय झरनालाई पृष्ठभूमिमा पारेर सेल्फी खिच्नकै लागि भए पनि पर्यटकहरु महभीर झरनामा जान्छन् ।

आफ्नो आँखै अगाडिबाट झरनालाई नियाल्न पाइने र मोबाइलमा सेल्फी फोटो तथा भिडियो खिच्न मिल्ने भएको हुँदा पर्यटकका साथै किशोरावस्थाका युवायुवतीहरु झरनामा पुगेर मज्जाले रमाउने गरेका छन् । अग्लो तथा भिरालो पहाडको टुप्पोबाट एकनासले तल जमिनतिर खसिरहने झरना हेर्दा आनन्द आउने पर्यटकहरुसँग अनुभव छ ।

महाभीर झरनाले हिस्तान गाउँमा थप रौनकथपेको हुँदा केही वर्षयता आन्तरिक पर्यटकहरुको आगमनमा पनि वृद्धि हुँदै जान थालेको छ ।

झरनामा पुगेर प्रकृतिसँगै रमाउन पाउँदा आफूलाई निकै आनन्दको अनुभूति भएको म्याग्दी बहुमुखी क्याम्पसका प्राध्यापक कमला जिसीले सुनाउनुभयो ।

हिस्तानको प्रमुख पर्यटकीय गन्तव्य मानिने महाभीर झरनाको लम्बाइ मात्र झण्डै ३ सय मिटरभन्दा बढी रहेको अनुमान गरिएको छ । प्राकृतिक रुपमा उत्पत्ति भएको यस झरनाको मुख्य मुहान हिस्तान गाउँको गोरखर्क भन्ने ठाउँमा पर्दछ ।

पर्यटकीय सम्भावना बोकेको महाभीर झरनाको पर्यटन पवर्द्धनका लागि अन्नपूर्ण गाउँपालिकाले पहल गरिरहेको जनाएको छ । अघिल्लो वर्ष शहरी विकास तथा भवन डिभिजन कार्यालय बागलुङबाट तीनलाख रुपैयाँको बजेटमा झरनासम्म पुग्ने पदमार्ग निर्माण, घेरबार, बस्नका लागि बेन्च र फलफुलका विरुवाहरु रोपिएको हिस्तानका वडाध्यक्ष गमबहादुर फगामीले बताउनुभयो ।

वर्षातको समयमा ठूलो हुने झरना गर्मीयाममा भने केही सानो स्वरुपमा परिवर्तन हुन्छ ।

हिस्तानको महाभीर झरनासँगै अन्नपूर्ण गाउँपालिकाको नारच्याङमा नारच्याङ झरना र दानामा रुप्से झरना प्रमुख पर्यटकीय गन्तव्यको आकर्षणका रुपमा रहेका छन् । हिमाली जिल्ला म्याग्दी आफैँमा पनि सुन्दर छ । यहाँ रहेका पर्यटकीय झरना, तालतलैया र धार्मिक स्थलहरुको विकास गर्न सकेमा धेरैभन्दा धेरै पर्यटकहरुलाई म्याग्दीमा भित्र्याउन सकिने प्रशस्तै सम्भावना देखिन्छ ।

अन्नपूर्ण गाउँपालिकाको भ्रमणमा निस्कनुभएकी आन्तरिक पर्यटक जमुना आचार्यले झरनामा जाँदा शारीरिक थकान मेटिनुका साथै रमाइलो र आनन्दको महसुस गर्न पाएको बताउनुभयो । झरनाको आसपास पर्याप्त पूर्वाधार निर्माणका साथै प्रचार(प्रसार गर्नसके आन्तरिक र बाह्य पर्यटकहरु बढ्ने उहाँले बताउनुभयो ।

यसैबीच नेपाल भ्रमण वर्ष–२०२० सुरु भएकाले स्थानीयले पर्यटकीय क्षेत्रको विकास गर्न माग गरेका छन् ।उज्यालो अनलाईन डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*