गाउँपालिकामा अति विपन्न परिवारका लागि एकीकृत नमूना बस्ती निर्माण

मकवानपुर । प्यूठानमा विपन्न परिवारका लागि एकीकृत बस्ती निर्माण गरिएको छ ।
नौवहिनी गाउँपालिकाले आफ्नो क्षेत्रभित्र रहेका विपन्न परिवारको आवासका लागि बस्ती निर्माण गरेको हो । वडा नम्बर ५ स्थित गाबैमा बस्ती निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष शिवराज रिजालले बताए ।
गाउँपालिकाले विपन्न परिवार बढी भएको गाउँलाई छनोट गरी बस्ती निर्माण गरेको हो । ५० लाख रुपैयाँ लगानीमा एकीकृत बस्ती निर्माण गरिएको हो ।
गाउँपालिकाबाट ७६ लाख रुपैयाँभन्दा बढी खर्च भएको र स्थानीयको समेत जनश्रमदान रहेको अध्यक्ष रिजालले जानकारी दिए । एउटा घर बराबर ५ लाख रुपैयाँ खर्च भएको रिजाल बताउँछन् ।
अबको १ महिनाभित्रमा लक्षित समुदायलाई घर हस्तान्तरण गरिने गाउँपालिकाका योजना शाखा प्रमुख अरविन्द वर्माले बताए । बस्तीमा २ कोठे घरसँगै शौचालय पनि निर्माण गरिएको छ ।
गाबैमा निर्माण गरिएका घर पाउनेमा १५ दलित परिवार र १ जनजाति परिवार रहेका गाउँपालिका अध्यक्ष रिजालले बताए । स्थानीय यमबहादुर विकले दिएको ८ रोपनी जग्गामा १६ घर निर्माण गरिएको हो ।
गाबैमा २२ विपन्न परिवार रहेका छन् । त्यसमध्ये १६ परिवारका लागि घर निर्माणकार्य अन्तिम चरणमा पुगेको र अन्य घरसमेत चालू आर्थिक वर्षमा बनाउने योजनामा रहेको अध्यक्ष रिजालले बताए ।
तल पहिरो माथि घर भई पहिराको उच्च जोखिममा रहेका दलितत परिवारका लागि नयाँ घर गाउँपालिकाले निर्माण गरिदिएपछि लक्षित परिवार खुशी भएका एकीकृत बस्ती निर्माण उपभोक्ता समितिका अध्यक्ष यमबहादुर थापाले बताए ।लोकान्तर डटकमबाट