विपन्न परिवारका विद्यार्थीलाई दिइएको छात्रवृत्ति वितरणमा दुरुपयोग

सुदिप शिवाकोटी
१८ फाल्गुन २०७६, आईतवार ०९:३९

मकवानपुर । सीमान्तकृत र विपन्न परिवारका छोराछोरीको पढाइ सहज बनाउन दिइएको छात्रवृत्ति वितरणमा मकवानपुरमा व्यापक दुरुपयोग भएको छ । छात्रवृत्तिबारे थाहै नपाएर विपन्नले आवेदन नदिएको, तर सम्पन्नले छोराछोरी पढाउन नसक्ने कागज सरकारी निकायबाटै गराएर छात्रवृत्ति लिएको भेटिएको हो । जब कि उनीहरूको सहरमा दुईतले घर, रोजगार, विभिन्न व्यवसाय र कृषिबाट राम्रो आम्दानी छ ।

शिक्षा विकास समन्वय इकाइ मकवानपुरका अनुसार शैक्षिक सत्र ०७५ मा जिल्लाका ९३ मावि र ८४ निमाविमध्ये दुई माविले मात्रै छात्रवृत्तिका लागि आवेदन फारम भरेका थिए । हेटौँडा उपमहानगरपालिका–४ स्थित आधुनिक राष्ट्रिय माविबाट एक सय ६० र मकवानपुरगढी गाउँपालिकाको जनता माविबाट ५४ विद्यार्थीले आवेदन पेस गरेका थिए ।

आधुनिक राष्ट्रिय माविबाट फारम बुझाउनेमध्ये ११ जनाले छात्रवृत्ति लिएको समन्वय इकाइले जनाएको छ । तीमध्ये १० विद्यार्थी सम्पन्न परिवारका छन् । घरजग्गा, रोजगारी, खेतीपाती भएका परिवारले आफूलाई विपन्न दाबी गर्दैै छात्रवृत्तिका लागि आवेदन दिएपछि रकम पाएको विद्यालयले जनाएको छ । ग्रामीण क्षेत्र मकवानपुरगढी गाउँपालिकाको जनता माविबाट भने चार विद्यार्थीले मात्रै छात्रवृत्ति पाएका छन् । छात्रवृत्ति पाउनेहरू सबै विपन्न रहेको प्रधानाध्यापक होमबहादुर नेपालीले बताए ।

फारम भर्न बारम्बार ताकेता गरे पनि दुई विद्यालयले मात्रै र त्यसमा वास्तविक विपन्नले फारम नै नभरेको शिक्षा विकास समन्वय इकाइको जवाफ छ । सम्बन्धित गाउँपालिका, विद्यालय व्यवस्थापन समिति र विद्यालय प्रशासनलाई पत्राचार, फोन र इमेलबाट बारम्बार ताकेता गर्दा पनि चासो नदेखाएको इकाइका सूचना अधिकारी कृष्णप्रसाद पौडेलले बताए । ‘हामीले सबै विद्यालयलाई बारम्बार ताकेता गरेका हौँ,’ उनले भने, ‘तर, दुई विद्यालयले मात्र फारम भरे ।’ यस वर्ष भने म्याद थप गरेका कारण फारम भर्नेको संख्या धेरै हुने अपेक्षा उनको छ ।

नयाँपत्रिका डेली डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*