मेयर महत भन्छन्, ‘सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर कायम गरौं ।’

अभिभावक भेलामा शिक्षक तथा विद्यार्थी सम्मानित
लोकखबर
१८ फाल्गुन २०७६, आईतवार १०:१५

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले सामुदायिक विद्यालयको शिक्षामा गुणस्तरीयता कायम गर्नुपर्नेमा जोड दिएका छन् ।
हेटौंडा ११ मा रहेको शंकरज्योति आधारभूत विद्यालयको २४ औं अभिभावक भेलामा सम्बोधन गर्दै मेयर महतले अरु विद्यालय जस्तै अब्बल बन्नका लागि सामुदायिक विद्यालय पनि अंग्रेजी माध्ययमा जानुपर्ने बताए ।

आफ्नी छोरीको विवाहमा गोड्धुवाबापत संकलन भएको रकमबाट दुई कोठा निर्माण गरेका मेयर महतले विद्यालयको विकासका लागि आफ्नो तर्फबाट थप सहयोग गर्न तयार रहेको बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भरतबहादुर दर्लामी मगरको अध्यक्षतामा भएको भेलामा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ का अध्यक्ष गोकर्णप्रसाद पराजुली, सदस्यहरु अञ्जनकुमार तिमल्सिना, जुना दाहाल, आरसी न्यौपाने, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) हेटौंडा ११ का अध्यक्ष कृष्णप्रसाद उप्रेती, कमलचन्द्र सुमन लगायतले विद्यालयको प्रगतिका लागि शुभकामना व्यक्त गरे ।
भेलाले सूर्यबहादुर खुलालको अध्यक्षतामा नौ सदस्यीय विद्यालय व्यवस्थापन समितिको नयाँ कार्यसमिती चयन गरेको छ । व्यवस्थापन समितिको सदस्यमा पञ्चलाल लामा, यशोदा कटुवाल, पदमकुमारी थापा, कसलुराम दर्लामी मगर र रचना गोले सदस्य छन् । सदस्य सचिवमा प्रधानाध्यापक मुकुन्द न्यौपाने, शिक्षक प्रतिनिधिमा कविता गौतम रहेका छन् भने मेरी लोप्चनको नेतृत्वमा शिक्षक अभिभावक संघ पनि गठन गरिएको छ ।

भेलाका अवसरमा वर्ष २०७४ र २०७५ का उत्कृष्ट शिक्षक रोशन पराजुली र सहायक प्रधानाध्यापकरुक्मिणी कुँवर, सेवानिवृत्त शिक्षक रञ्जिता भेटवाललाई सम्मान गरिएको छ । यस्तै, वर्ष २०७५ मा कक्षा–८ को परीक्षामा ‘ए प्लस’ ल्याउने छात्रा पूर्णिमा विकलाई नगद एक हजार र स्टेशनरीले पुरस्कृत गरिएको जनाइएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*