प्रधानमन्त्रीको सुस्वास्थ्यको कामना गर्दै श्रीपशुपतिनाथ मन्दिरमा विशेष पूजा

लोकखबर
२० फाल्गुन २०७६, मंगलवार ११:५२

मकवानपुर ।प्रधानमन्त्री केपी शर्मा ओलीको सुस्वास्थ्यको कामना गर्दै काठमाडौंको श्रीपशुपतिनाथ मन्दिरमा मंगलबार बिहान विशेष पूजा गरिएको छ।

स्रोतका अनुसार मंगलबार बिहान ९;३० बजे ओलीको सुस्वास्थ्य, आरोग्य र दीघार्युको कामना गर्दै विशेष पूजा गरिएको हो। विशेष पूजाका लागि ओलीका आफन्त मंगलबार बिहानै पशुपतिनाथ मन्दिर पुगेका थिए।

सोमबार ओलीका परिवारका सदस्यले पशुपतिनाथ मन्दिरमा पूजा गराउने इच्छा व्यक्त गरेका थिए। एक आफन्तले मंगलबार बिहान नियमानुसार लाग्ने पूजा सामग्री दस्तुर रु। ५१००।– एसबिआई बैंकमा बुझाएर भौचर पेस गरेका थिए।

मंगलबार बिहानको पहिलो विशेषपूजा नै प्रधानमन्त्रीका लागि गरिएको थियो। पशुपतिका मूलभट्ट गणेश भट्टलगायत अन्य तीन सहायक भट्टले ओलीको सुस्वास्थ्य तथा मिर्गौला प्रत्यारोपण सफल होस् भन्ने कामनासहित पूजा गरेका थिए। विशेष पूजाका लागि करिब १० मिनेट समय लागेको थियो। उक्त बेला ओलीका आफन्त मन्दिरभित्र उपस्थित थिए।

सप्तरीको चर्चित छिन्नमस्ता मन्दिरमा पनि मंगलबारदेखि प्रधानमन्त्रीको सुस्वास्थ्यको कामना गर्दै विशेष हवन तथा पूजा सुरु गरिएको छ
ओलीको आरोग्यताका लागि महामृत्युञ्जय, महारुद्री, लघुरुद्रीलगायत विशेष पूजा गरिएको स्रोतले जनाएको छ। मिर्गौला प्रत्यारोपण सफलताका लागि पशुपतिका मूल भट्टले रुद्राभिषेक, जलाभिषेकसमेत गराएका थिए। पूजाका लागि दही, दूध, घिउ, मह, जललगायत सामग्रीबाट पञ्चामृतलगायत अन्य सामग्री तयार गरिएको थियो।

पशुपतिमा लामो समयदेखि पूजा गराउँदै आएका पण्डित सुदर्शन नेपालका अनुसार पशुपतिमा विशेष पूजा गराउँदा जटिल रोग निको हुनुका साथै शल्यक्रिया सफल हुन्छ भन्ने विश्वास रहँदै आएको छ। यस्ता पूजाले बिरामी तथा आफन्तको मनमा शान्ति आउने हुनाले यसको विशेष महत्व हुने उनको भनाइ छ।

प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपणका लागि सोमबार त्रिवि शिक्षण अस्पतालको न्युरोलोजी तथा ट्रान्सप्लान्ट विभागमा भर्ना भएका छन्। बुधबार प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण गरिने अस्पतालले जनाएको छ।

सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री ओलीको सफल मिर्गौला प्रत्यारोपणको कामना गर्दै भगवान पशुपतिनाथले आशिर्वाद दिउन् भनी ट्वीट्मार्फत् प्रार्थना गरेका थिए।
ओलीको सुस्वास्थ्यका लागि पशुपतिनाथमा पूजा तथा प्रार्थना केही दिनसम्म जारी रहने बताइएको छ।

यसैबीच, सप्तरीको चर्चित छिन्नमस्ता मन्दिरमा पनि मंगलबारदेखि प्रधानमन्त्रीको सुस्वास्थ्यको कामना गर्दै विशेष हवन तथा पूजा सुरु गरिएको छ।नेपालन्युज डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*