वसन्तपुरमा ठडियो चीर, औपचारिक रूपमा होली सुरु
मकवानपुर । हरेक वर्षझैँ यस वर्ष पनि होलीको चीर काठमाडौंको वसन्तपुरमा ठड्याइएको छ।
मङ्गलबार बिहान ७ बजेर ५७ मिनेटको साइतमा विधिपूर्वक चीर ठड्याइएको हो। चीर ठड्याइएसँगै सामाजिक सद्भावको पर्व होली औपचारिक रूपमा सुरु भएको छ।
हनुमानढोका दरबारको दक्षिण पटाङ्गिनीमा चीर ठड्याइएको हो। फागुको प्रतीक चीर ऐतिहासिक मोहनकाली चोक तथा दाखचोकमा समेत एउटै समयमा ठड्याइने चलन छ। रङ्गीविरङ्गी कपडाजडित तीन खण्डे गजुरजस्तो देखिने होलीको चीरको उचाइ ३२ फुट रहेको छ। चीर ठड्याइएपछि गुरुज्यूको पल्टनबाट हर्षबढाइँ गरिएको थियो।
फागुन शुक्ल अष्टमीदेखि फागुन शुक्ल पूर्णिमासम्म होली पर्व मनाउने गरिन्छ। यस वर्ष होलीको मुख्य दिन काठमाडौँलगायत पहाडी जिल्लाहरूमा फागुन २६ गते र तराई-मधेसका जिल्लाहरूमा फागुन २७ गते सार्वजनिक विदा दिइएको छ।नेपालन्युज डटकमबाट