घर किन्न ऋण लिन केही सहज, विदेशबाट ल्याउने ऋणको सीमा बढ्यो

लोकखबर
२० फाल्गुन २०७६, मंगलवार १४:३३

मकवानपुर । नेपाल राष्ट्र बैंकले पहिलो पटक घर किन्नेका लागि खुकुलो नीति ल्याएको छ । मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै राष्ट्र बैंकले पहिलो पटक घर किन्नेलाई दिने ऋणको भुक्तानी अनुपात बढाएको छ ।

यसअघि ५० प्रतिशत रहेको ऋणको अनुपात बढाएर ६० प्रतिशत पुर्‍याइएको राष्ट्र बैंकले जनाएको छ । अब कुल आम्दानीको ६० प्रतिशत रकम घरको किस्ता तिर्न छुट्याउन पाइनेछ । यसले गर्दा मध्यम वर्गीय परिवारलाई नयाँ घर बनाउन या किन्न सजिलो हुनेछ ।

यस्तै विदेशबाट ल्याउने ऋणको सीमा पनि बढेको छ । नेपाली नागरिक, फर्म या संस्थाले व्यवसाय सञ्चालन गर्न राष्ट्र बैंकको स्वीकृति लिएर तीन वर्षसम्मका लागि विदेशबाट ऋण लिन सक्नेछन् । त्यस्तो ऋण १० करोड भारु या १० लाख अमेरिकी डलरसम्म ल्याउन पाइने राष्ट्र बैकले जनाएको छ ।

यस्तै नियमअनुसार दर्ता भएका घर जग्गा व्यवसाय कम्पनीले सञ्चालन गर्ने नेपाल सरकारको सम्बन्धित निकायबाट अनुमति प्राप्त आयोजनाका लागि प्रदान गरिने कर्जाको ऋण मूल्य अनुपात पनि तोकिएको छ । महानगरपालिका, उपमहानगरपालिका र काठमाण्डौ महानगरपालिकासँग जोडिएका नगरपालिका क्षेत्रमा अधिकतम ५० प्रतिशत र यो बाहेकका क्षेत्रमा ६० प्रतिशत कायम गरिने राष्ट्र बैंकले जनाएको छ ।उज्यालो अनलाईन डटकमबाट

 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*