सरकार भन्छ- नआत्तिनुस्, ग्यासको अभाव भएको छैन

लोकखबर
२३ फाल्गुन २०७६, शुक्रबार १५:२३

मकवानपुर । ग्यास लगायतका दैनिक उपभोग्य वस्तुको अभाव नहुने भएकाले नआत्तिन सरकारले उपभोक्तालाई आग्रह गरेको छ ।

कोरोना भाइरसको जोखिम बढेको भन्दै बजारमा ग्यासको माग बढेपछि सरकारले उपभोक्तालाई नआत्तिन र चाहिनेभन्दा धेरै स्टकमा नराख्न आग्रह गरेको हो। ग्यासको आपूर्ति सजिलै भइरहेकाले अभाव नहुने हुँदा आवश्यकताभन्दा धेरै नलिन वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले आग्रह गर्नुभयो ।

उहाँले बजारमा ग्यासको कृत्रिम अभाव गराउनेलाई कारबाही हुने पनि बताउनुभयो । कोही कसैले ग्यास लुकाएको थाहा पाए वा ग्यास नदिए फोन नम्बर ११३७ मा वा ९८५११४४१८९ मा सम्पर्क गरेर जानकारी दिन पनि महानिर्देशक सुवेदीले आग्रह गर्नुभएको छ ।

ग्याससँगै अन्य दैनिक उपभोग्य वस्तुको आपूर्ति भैरहेकाले अभाव नहुने पनि उहाँले बताउनुभयो । बजारमा दैनिक अनुगमन भैरहेकाले कालोबजारी र कृत्रिम अभाव हुन नदिने विभागको दाबी छ । बजारको अवस्थालाई हेरेर अनुगमन अझै बढाउने सरकारको तयारी छ ।

ग्यासको आवश्यकताभन्दा बढी स्टकमा राख्दा जोखिम बढ्ने भएकाले उपभोक्तालाई सचेत रहन सरकारले आग्रह गरेको छ । लामो समयसम्म ग्यास स्टकमा राख्दा सिलिण्डर पड्कने जोखिम धेरै हुने नेपाल आयल निगमले जनाएको छ । उज्यालो अनलाईन डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published.


*