सुनसरीमा महिला हिंसा बढ्दो

मकवानपुर । आज मार्च ८ अर्थात् अन्तराष्ट्रिय नारी दिवस। बाहिर जति समानता र खोक्रो भाषण गरेपनि घरभित्रैबाट वा अन्य ठाउँमा कुनै न कुनै कारणले महिलाहरु शोषणमा परिरहेका छन्। देशको बदलिदो अवस्था रहेपनि अधिक महिलाहरुले आफूले यसको अनुभूति गर्न पाइरहेका छैनन्।
सुनसरी जिल्लामा महिला हिंसाका घटना वृद्धि हुने क्रम जारी छ। जिल्लामा एक वर्षको अवधिमा ७ सय २२ वटा महिला हिंसासम्बन्धी उजुरी परेका छन्। महिला सेलका अनुसार पछिल्लो एक वर्षको अन्तरालमा ७ सय २२ वटा महिला हिंसासम्बन्धी मुद्दा परेकोमा ४ सय ८६ वटा सहमतिमा टुङ्गिएका छन् भने १६ वटा अदालत पठाइएको र २ सय २० वटा मुद्दामा निवेदक प्रहरीको सम्पर्कमा आएका छैनन्।
अघिल्लो वर्षको तुलनामा यो वर्ष महिलामाथि हुने हिंसामा वृद्धि भएको तथ्याङ्कले देखाएको छ। यसमा विशेषगरी पीडित महिला अपाङ्ग रहेको अधिकारकर्मीहरु बताउँछन्।
महिला अधिकारकर्मी तथा नेपाल चेलीबेटी अपाङ्ग संघकी संस्थापक अध्यक्ष तथा पूर्वाञ्चल अपाङ्ग–असाहय वृद्धा सेवा प्रदेश १ की अध्यक्ष तृप्ता मगरले नारी दिवस भाषणमा मात्रै सीमित भएको बताइन्। उनले नेपालन्युजसँग भनिन्, ‘अहिले अन्तर्राष्ट्रिय नारी दिवसको कार्यक्रम गरिए पनि नेपालमा महिला हिंसा बढ्दो छ।’ समयअनुसार परिवर्तन हुनुपर्नेमा त्यो अनुभव गर्न नपाइएको उनको भनाइ छ।
‘हामीले महिला हिंसा कहिल्यै गर्दिनौँ भनेपनि यो घरमै हिंसा भइरहेको छ,’ उनी भन्छिन्, ‘यौन हिंसा, घरेलु हिंसाजस्ता कुराहरुले पनि अपाङ्गता भइरहेका महिला झनै पीडित छन्।’
उनले अहिलेको अवस्थामा सरकारले महिलालाई शिक्षा र रोजगारीको बाटो अविलम्बन गर्नुपर्ने बताइन्। ुअहिले धेरैजसो महिलाहरु समाजबाटै शोषित छन्, उनै तिरष्कारमा रहेका महिलाहरुलाई सरकारले रोजगारीको बाटो सिर्जना गर्न आवश्यक छ,ु उनले भने।
उनले महिलाले देशको सपुत जन्माउने तर्क गर्दै जघन्य अपराध गरेको भए कानुनी कारबाही हुन आवश्यक रहेको बताइन्। सुनसरीमा कति महिला अपाङ्गता छन् भन्ने यकिन तथ्याङ्क निकाल्न नसकिए पनि जिल्लामा मात्रै ११ हजार ५ सय ९३ जना अपाङ्गता भएका मानिसहरु बसोबास गर्छन्।
महिला सञ्जाल इटहरीकी अध्यक्ष बिमला ढकालले त्यस क्षेत्रमा ७५ प्रतिशत महिला शोषणमा पर्ने गरेको बताइन्। उनले यो वर्ष १ सय ३१ वटा गुनासो आएको बताइन्। ‘हामीसँग यो वर्षमात्रै १ सय ३१ वटा गुनासाहरु आएका छन्,’ उनले भनिन्, ‘नगरपालिकामा जाँदा ढिलो काम हुन्छ भन्ने गुनासो आउँछ। हामी गाउँ, टोलमै पुगेर समस्याको समाधान गर्ने प्रयास गरिरहेका छौं।’
इटहरीमा पछिल्लो समय लैंगिक हिंसा, घरेलु हिंसा, बलात्कार जस्ता घटनामा वृद्धि भएको उनको भनाइ छ। पछिल्लो सयम वैदेशिक रोजगारीका लागि श्रीमान विदेश जाने र श्रीमतीलाई विभिन्न शंका गर्ने गरेको बताउँदै उनले अन्य २५ प्रतिशत पुरुष स्वयं पीडित रहेको बताइन् । उनले प्रहरीकै आँखा अगाडि महिला हिंसा हुने गरेको बताइन्। पीडितले आफ्नो छोराछोरीको माया र समाजको डरले समस्या खुलेर राख्न नसकेको उनको भनाई छ।
इटहरीमा बसेर लामो समयदेखि प्रध्यापन पेसा अंगालेकी प्रा। डा गीता अधिकारीका अनुसार अहिले पनि समाजमा गरिबी, विपन्न महिलाहरु पढ्न नपाएर माथि उठ्न सकेका छैनन्। आगामी दिनमा पीडित महिलाहरुका लागि सरकारले मात्रै नभइ हरेक मानिसले आवाज उठाएमा समस्याको समाधान हुने उनको विश्वास छ।नेपालन्युज डटकमबाट