कोरोना त्रासले फिलिपिन्सको मनिलास्थित एडिबी मुख्यालय बन्द

लोकखबर
२९ फाल्गुन २०७६, बिहीबार १३:२७

मकवानपुर ।कोरोना भाइरस संक्रमणको डरले फिलिपिन्सको राजधानी मनिलास्थित एसियन डेभलपमेन्ट बैंक (एडिबी) को मुख्यालय बन्द भएको छ। बिहीबारै फिलिपिन्सको सिनेट पनि बन्द गरिएको छ।

दुवै कार्यालयमा आउने आगन्तुकमा जाँच गर्दा कोरोना पोजेटिभ देखिएपछि ती कार्यालय बन्द गरिएको सरकारी अधिकारीले जनाएका छन्।

सावधानीका लागि फिलिपिनी राष्ट्रपति रोड्रिगो डुटेर्टोले पनि भाइरस परीक्षण गराउने उनको सचिवालयले जनाएको छ।

‘व्यवस्थापन कहिले कार्यालय खोल्ने भन्ने निर्णय लिएपछि मात्र बैंकले नियमित कामहरू थाल्नेछ,’बैंकले भनेको छ।

‘हाम्रा लागि कर्मचारी, आगन्तुक अनि तिनका परिवारको सुरक्षा निक्कै महत्वपूर्ण छ,’ एडिबीका अधिकारी डेबोरा स्टोक्सले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘आगन्तुकसँग कुराकानी गर्ने कर्मचारीलाई हामीले सघाउ पु¥याइरहेका छौं।’ मनिलास्थित एडिबी कार्यालयमा २ हजार ६ सयभन्दा बढी पूर्णकालीन कर्मचारी छन्।

एकजना संक्रमणको आशंका गरिएका कर्मचारीसँग एउटा सार्वजनिक समारोहमा गएका दुई सांसद, वित्त सचिव कार्लोस डोमिन्गुइज र यातायात सचिव आर्थर टुगाडे पनि स्वयं क्वारेन्टाइनमा बसेका छन्।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले बुधबार कोरोना भाइरस संक्रमणलाई भयानक महामारीका रूपमा उल्लेख गरेको छ। डब्लुएचओका अनुसार बुधबारसम्ममा १ सय १८ मुलुकका १ लाख २१ हजार मानिसमा यो रोगको संक्रमण देखिएको जनाएको छ। कोरोना संक्रमणबाट कम्तीमा ४ हजार ३ सयले ज्यान गुमाइसकेको डब्लुएचओको तथ्यांक छ।

फिलिपिन्समा ४९ जना व्यक्तिमा कोरोना पोजेटिभ देखिएकोमा एकको मृत्यु भइसकेको छ। बुधबार राति मात्रै कोरोना संक्रमण देखिएको एक व्यक्तिको मृत्यु भए पनि त्यसको आधिकारिक पुष्टि हुन बाँकी रहेको स्वास्थ्य विभागले जनाएको छ।

सरकारी अधिकारीले सोमबारै त्यहाँ जनस्वास्थ्य संकटकाल घोषणा गरेका छन्। त्यहाँका स्कुल, विश्वविद्यालय यो साताका लागि बन्द गरिएका छन्।
एडिबीले गत साता जारी गरेको विश्लेषणअनुसार कोरोना प्रभावले विश्वको अर्थतन्त्र ०.१ देखि ०.४ प्रतिशतसम्म घट्नसक्ने प्रक्षेपण गरिएको छ। यसले युएस डलर ७७ देखि ३ सय ४७ सम्म नोक्सान हुने देखिन्छ। नेपालन्युज डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*