अनेरास्ववियूका नेता राईलाई ८ वर्ष ६ महिना कैद सजाय

लोकखबर
३० फाल्गुन २०७६, शुक्रबार १३:४९

मकवानपुर । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अनेरास्ववियूका निलम्बित केन्द्रीय सदस्य इन्द्रहाङ राईविरुद्ध ८ वर्ष ६ महिनाको कैद सजाय सुनाइएको छ ।

गत तिहारमा देउसी खेल्न बोलाएर युवतीमाथि बलात्कार गरेको अभियोगमा दोषी ठहर भएका राईविरुद्ध काठमाडौं जिल्ला अदालतले ८ वर्ष ६ महिना कैदको सजाय सुनाएको हो ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश विनोदकुमार पोखरेलको इजलाशले यसअघि नै राईलाई दोषी ठहर गरिसकेको थियो । बिहीबार कैद सजाय निर्धारण भएको जिल्ला अदालत काठमाडौंका श्रेस्तेदार आनन्द प्रसाद श्रेष्ठले खबरहबलाई जानकारी दिए ।

श्रेष्ठका अनुसार राईविरुद्ध पीडित युवतीलाई १ लाख ५० हजार रुपैयाँ क्षतिपूर्ति भराउन समेत फैसलामा उल्लेख छ ।

राईले एक युवतीलाई तिहारमा देउसी खेल्न भन्दै कोठामा बोलाएर बलात्कार गरेका थिए । पीडित युवतीको उजुरीका आधारमा राईलाई गत कात्तिक १२ गते प्रहरीले पक्राउ गरेको थियो ।

बलात्कार मुद्दामा पक्राउ परेलगत्तै अनेरास्ववियूले राईलाई केन्द्रीय सदस्यबाट निलम्बन गरिसकेको थियो ।

खबरहब डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*