गण्डकी प्रदेशसभामा लगातार तेस्रो दिन पनि अवरुद्ध

लोकखबर
३० फाल्गुन २०७६, शुक्रबार १५:२२

मकवानपुर । गण्डकी प्रदेशसभा बैठक लगातार तेस्रो दिन पनि अवरुद्ध भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले शुक्रबार पनि प्रदेश सभा अवरुद्ध गरेको हो ।

विधायन समितिबाट २० महिनापछि प्रतिवेदन सहित सदनमा फिर्ता आएको ‘प्रदेशसभा सचिवालयको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा कांग्रेसले संशोधन हालेको थियो । तर, उक्त संशोधनलाई समितिले सदनबाटै टुंग्याउने भन्दै बहुमतले निर्णय गर्‍यो ।

सोही निर्णय र संशोधनलाई बहुमतका आधारमा बेवास्ता गरेको भन्दै कांग्रेसले सदन अवरुद्ध गरेको हो । संशोधन दर्ता गराउने सांसद तथा कांग्रेसका प्रमुख सचेतक मणिभद्र शर्माले विधायन समितिमा पनि संशोधनको विषय टुंगाउनेपर्ने बताएका थिए । तर, समितिले प्रक्रिया अगाडि बढायो ।

उनले भने, “संशोधन उपर छलफल भयो, तर उनीहरु बहुमतले पास गर्न खोजे, अब बहुमतले त मेरो संशोधन यथावत राखेर पनि पास गर्न सक्ने भयो नि त, म सहमत छैन, मेरो संशोधन मान्ने भए मान्नुहोस, म चाहिँ असहमत छु भनेको हुँ मैले, खासमा हामीले संशोधन हाल्नुको कारण उक्त समितिमा दलीय प्रतिनिधित्व सुनिश्चित हुनुपर्छ भनेर हो, यो कांग्रेसको प्रतिनिधिमात्र हुनुपर्छ भन्ने होइन, चारै दलका प्रतिनिधि हुनुपर्छ र कर्मचारीलाई दिइएको बढी अधिकार पनि कटौती हुनुपर्छ भनेर नै संशोधन हालिएको हो ।”

प्रदेशसभामा सचिव नियुक्ति पनि यही विधेयकका आधारमा हुनेछ ।

विधेयकको परिच्छेद ३ को दफा ५ मा प्रदेशसभा र सचिवालयलाई सञ्चालन तथा व्यवस्थापन गर्ने सम्बन्धमा आवश्यक नीति निर्धारण, रेखदेख, नियन्त्रण र सुपरिवेक्षणका लागि सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिको व्यवस्था छ ।

यो समितिलाई प्रदेशसभा र सचिवालयलाई सूचारु रूपले सञ्चालन तथा व्यवस्थापन गर्ने सम्बन्धमा आवश्यक नीति निर्धारण गर्ने, रेखदेख, नियन्त्रण र सुपरीवेक्षणका लागि सचिवालय सञ्चालन तथा व्यवस्थापन गर्ने अधिकार दिइएको छ ।

त्यसमा सभामुख अध्यक्ष, उपसभामुख, प्रदेशसभा सचिवालयका सदस्यसचिव र सचिवले तोकेको एक जना अधिकृत सदस्य सचिव रहने उल्लेख छ । यो प्रावधानले कर्मचारीलाई बढी अधिकार दिइएको भनेर पनि कांग्रेसले विरोध गरेको हो । बाह्रखरी डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*