काठमाडौंका मनकारी घरधनी : जो आफ्नो घरलाई निःशुल्क क्वारेन्टाइन बनाउन चाहन्छन्

लोकखबर
४ चैत्र २०७६, मंगलवार १५:२९

मकवानपुर । कोरोना भाइरसविरुद्ध लड्न भन्दै काठमाडौंका २ जना घरधनीहरुले आफ्नो घरलाई क्वारेन्टाइनका रुपमा प्रयोग गर्न आह्वान गरेका छन् ।

उनीहरुले कोरोना भाइरस (कोभिड–१९)को संक्रमण देखिएका तथा संक्रमण आशंका गरिएका व्यक्तिलाई १४ दिनसम्म बस्न मिल्ने गरी आफ्नो घरलाई क्वारेन्टाइनका रुपमा प्रयोग गर्न आह्वान गरेका हुन् ।

काठमाडौं सिफलका चिराग गोयल र कुलेश्वरका लाल चन्द्र गौतमले आफ्नो घर क्वारेन्टाइमा बस्नपर्ने व्यक्तिका लागि निःशुल्क उपलब्ध गराउने घोषणा गरेका हुन् ।

उनीहरुले सामाजिक सञ्जाल फेशबुकमा आफ्नो घरको तस्विर सार्वजनिक गर्दै काठमाडौंका क्वारेन्टाइनमा बस्नुपर्ने व्यक्तिका लागि १४ दिनसम्म आफ्नो घर निःशुल्क उपलब्ध गराउने बताएका छन् ।

‘यो सिफल, काठमाडौंमा रहेको हामो खाली घर हो । एक विदेशीले काठमाडौंमा एक्लै बस्नको लागि ठाउँ खोजिरहेको र होटलमा बस्न नसक्ने अवस्थामा रहेको पोस्ट देखे,’ सिफलका चिराग गोयलले आफ्नो घरको तस्विर सहित लेखेका छन्, ‘त्यसैले हामीले हाम्रो घरलाई १४ दिनको क्वारेन्टाइन अवधिको लागि निःशुल्क रहन (बस्न) दिने निर्णय लिएका छौं ।’

गोयलले आफ्नो घरमा ९ वटा कोठा रहेको र २ वटा छतहरुलाई पनि कोठा बनाउन सकिने बताएका छन् ।

उनले कोरोना भाइरससँग लड्न सरकारले सबैलाई क्वारेन्टाइनको व्यवस्था गर्न नसक्ने भएकाले आफूहरुले सहयोग गर्न लागेको बताएका छन् ।

गोयलले आफ्नो खाली घरलाई अस्थायी अस्पताल बनाउन चाहेमा निःशुल्क घर उपलब्ध गराउने समेत घोषणा गरेका छन् ।

यस्तै काठमाडौंकै अर्का घरधनी लालचन्द्र गौतमले पनि आफ्नो कुलेश्वरमा विक्रीका लागि राखेको घर क्वारेन्टाइनका लागि निःशुल्क उपलब्ध गराउने घोषणा गरेका छन् ।

गौतमले आफ्नो घरमा ३ वटा फ्लोरमा २ वटा वेडरुम सहितको कोठा, २ वटा किचेन र २ वटा लिभिङ रुम रहेको जनकारी दिएका छन् ।

‘मलाई थाहा छ नेपाल सरकारले रातारात नयाँ अस्पताल बनाउन सक्दैन, त्यसैले म आफ्नो घर अस्थायी अस्पतालको लागि निःशुल्क उपलब्ध गराउन चाहन्छु,’ गौतमले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यो घर हामी कोरोना भाइरस मुक्त नेपाल भए पछि मात्र बिक्री गर्ने छौं ।’

खबरहब डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*