कोरोनाको कहर : मजदुरको काम खोसियो
मकवानपुर । सोलुखुम्बुको खुम्जुङका पेम्बा शेर्पा विदेशी आरोहीलाई सहयोग गर्दै सगरमाथाको शिखरमै पुगेको लागातार तीन वर्ष भयो । एक पटक सगरमाथा चढ्दा झण्डै पाँच लाख रुपैयाँ आम्दानी हुने र त्यही आम्दानीबाट तीन छोराछोरी सहित पाँच जनाको परिवार चलेको छ ।
यो वर्ष पनि सगरमाथाको शिखरसम्म पुग्ने योजना थियो । तर कोरोनाको डरसँगै उहाँको योजना चौपट भएको छ । काठमाण्डौमा भेटिएका शेर्पाले भन्नुभयो, ‘यो वर्ष अब परिवार कसरी पाल्ने भन्ने चिन्ता भएको छ, अरु काम जानेको छैन ।’
डेढ दशकदेखि पर्यटक गाइडको रुपमा काम गर्दै आएका रामेछापको उमाकुण्ड गाउँपालिकाका आङपासाङ शेर्पाको समस्या पपिन उस्तै छ । पर्यटकलाई विभिन्न हिमालका काखतिर घुमाएर आम्दानी गर्दै आएका शेर्पा यो वर्ष बेरोजगार बन्नुभएको छ । उहाँ भन्नुहुन्छ, ‘अघिल्ला वर्षतिर त गाउँमा नयाँ घर बनाउने काम पनि थियो, तर भूकम्पले भत्किएका घर पनि बनिसके, विदेशी आउँदैनन्, अब के काम गर्नु रु यो वर्ष त्यत्तिकै बित्ने भयो ।’
पेम्बा र पासाङ त प्रतिनिधि पात्र मात्र हुन् । नेपालमा पर्यटक नआउँदा नेपालको पर्वतारोण, ट्रेकिङ, ट्राभल, र्याफ्टिङ, एअरलाइन्स, संस्कृति, पुरातात्विक, कुरियर कार्गो, होटल लगायत क्षेत्रमा काम गर्ने झण्डै तीन लाख मजदुर प्रभावित भएका छन् । यसमध्ये झण्डै आधा मजदुर मौसमी हुन् ।
पर्यटक आउने मुख्य सिजन असोजदेखि मंसिर र चैतदेखि जेठसम्म काम गरेर वर्ष दिनको लागि जोहो गर्ने मौसमी मजदुर पुरै बेरोजगार भएका छन् । नियमित काम गर्नेहरुमा पनि रोजगारी गुम्ने चिन्ता छ । अहिले पर्यटक बस्ने होटल ९० प्रतिशत खाली छन् ।
अरु पर्यटन व्यवसाय पनि सुनसान छ । त्यसैले कतिबेला कुन कम्पनीले मजदुर कटौती गर्छन् त्यो टुङ्गो छैन । कतिपयले त मजदुर कटौती सुरु पनि गरिसकेका छन् । त्यसैले नियमित काम गरिरहेका मजदुरहरु पनि चिन्तामा छन् ।
मजदुरमा हाहाकार भैसक्यो– अध्यक्ष पराजुली
ट्रेकिङ–ट्राभल–र्याफ्टिङ–एअरलाइन्स–संस्कृति–पुरातात्विक–कुरियर कार्गो यूनियन (यूनिटार्भ) का अध्यक्ष सुमन पराजुली पर्यटक आउने मौसममै ठप्प हुँदा मजदुरमा हाहाकार भएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘कि केही समयअघि भएको भए एउटा योजना बन्थ्यो, तर ठिक्क काममा निस्कने बेलामा एकाएक रोकिँदा ठूलो समस्या भएको छ ।’
नियमित रोजगारीमा रहेकाहरुको रोजगारी गुम्ने खतरा एकातिर छ भने मौसमी मजदुरहरुले काम पाउने सम्भावना नै छैन । यस्तो आपतकाल सृजना भएर रोजगारी नपाएमा सहयोग गर्ने कुनै सरकारी कार्यक्रम छ न त व्यवसायीहरुले केही गर्छन् । आफैँले व्यवस्थापन गर्नुपर्छ तर आम्दानी नभएपछि कसरी दैनिकी चलाउने भन्ने समस्या बढेको अध्यक्ष पराजुली बताउनुहुन्छ ।
आशाको वर्षमै निरासा
सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेर विभिन्न कार्यक्रम पनि गरिरहेको थियो । व्यवसायीहरु पर्यटकको संख्या बढ्नेमा आशावादी थिए । पर्यटक आएपछि मजदुरले काम त पाउने नै भए । अघिल्लो वर्ष एक पटक पर्यटक घुमाउन पाएका मजदुरले पनि यस वर्ष दुई-तीन टोली पाउने आशा थियो । तर भ्रमणवर्षको सुरुसँगै कोरोना भाइरसको प्रभावले अहिले नेपालमा पर्यटक आउने क्रम ठप्प जस्तै बनेको छ ।
आरोही पेम्बा शेर्पा भन्नुुहन्छ ‘यो वर्ष त अलि राम्रो (आम्दानी दिने खालको) आरोही छानेर जान पाउने आशा थियो तर कामै पो पाइएन ।’ यस्तो आशा सबैजसो मजदुरको रहेको तर अहिले पीडा सुनाउन पनि नसक्ने अवस्थामा पुगेको युनिटार्भका अध्यक्ष पराजुली बताउनुहुन्छ ।
सरकार मजदुरको कुरै सुन्दैन
युनिटार्भका अध्यक्ष पराजुली सरकाले मजदुरको कुरै नसुनेको गुनासो गर्नुहुन्छ । ‘हामीले पर्यटन मन्त्रीलाई पनि भेटेर पीडा सुनायौं, छलफलमा छौं भन्नुभन्दा बाहेक केही हुँदैन, व्यवसायीले जे भने पनि मान्न तयार हुने सरकार मजदुरका कुरा गर्नासाथ व्यवसायीले हुने घाटामा छलफल गर्न थाल्छ, मजदुर वर्गको हितका कुरा कुनै पनि शासकले सुन्दैनन् भन्ने कुरा यो पटक प्रमाणित भयो, किनकि अहिले मजदुरको कुरा गर्ने दल सरकारमा छ, तर हाम्रो कुरा सुनेन’, अध्यक्ष पराजुलीले भन्नुभयो ।
लाखभन्दा धेरै मजदुर एकैपटक बेरोजगार हुँदा ठूलो समस्या आउने भन्दै अध्यक्ष पराजुली मजदुर केन्द्रित कार्यक्रम ल्याउनुपर्ने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ,‘हामी पैसा बाँड भनेर माग्दैनौँ तर मजदुरलाई कम्तीमा अघिल्ला वर्षहरुको भन्दा आधा भए पनि कमाइ हुने काम चाहिँ दिनुपर्यो, नत्र हामी खान नपाउने अवस्थामा पुग्छौँ ।’
हामी पनि समस्यामा–व्यवसायी
पर्यटक नआउँदा मजदुरमात्र हैन व्यवसायी पनि मारमा परेका छन् । पर्यटक घुमाएर वा उनीहरुलाई हिमाल चढ्ने प्रबन्ध मिलाएर व्यवसाय चलाइरहेका व्यवसायीहरु अहिले चिन्तामा छन् ।
अन्नपूर्ण एक्पिडिसन प्रालिका कार्यकारी निर्देशक कामी शेर्पा भन्नुहुन्छ, ‘हामीलाई मजदुरको समस्या राम्रोसँग थाहा छ, चार हजार भन्दा धेरै आरोहण सहयोगी, २२ हजारभन्दा धेरै पर्यटन गाईड, ३ हजारभन्दा धेरै टुर गाईड, ५० हजारभन्दा धेरै पर्यटक भरिया, होटल लगायत अरु विभिन्न क्षेत्रमा काम गर्ने समेत गरेर लाखौंको रोजगारी गुमेको हामी टुलुटुलु हेर्नु बाहेक अरु गर्न सकिरहेका छैनौँ अहिले हाम्रो व्यवसाय नै धरापमा परेकोले के गर्ने भन्ने अन्योल छ ।’
यस्तो विपत्तीमा नियमित कर्मचारीको व्यवस्थापन गर्न सकिने भए पनि हरेक वर्ष कम्पनी फेरेर काम गरिरहेका मौसमी मजदुरलाई व्यवस्थापन गर्न कम्पनीहरुले नसक्ने भएकोले उनीहरुको लागि सरकार नै जिम्मेवार हुनुपर्ने शेर्पा बताउनुहुन्छ ।
मौसमी मजदुरलाई उपयुक्त कोष चाहियो
युनिटार्भका अध्यक्ष पराजुली मौसमी मजदुरहरुको व्यवस्थापनको लागि कुनै उपयुक्त कोष चाहिने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘कि सबैलाई सामाजिक सुरक्षा कोषमा सहभागी गराएर काम नपाउँदा खर्च दिने व्यवस्था गर्नुपर्छ वा यस्तो संकटको बेलामा कुनै वैकल्पिक काम दिन सक्नेगरी कुनै कल्याणकारी कोष हुनुपर्छ । अन्यथा खानेकुरा जुटाउन नसक्ने अवस्था समेत आउने देखिएको छ ।’
भोलिका लागि छलफल गर्ने एउटा पाटो छ भने अहिले नै रोजगारी गुमेर के गर्नु भन्ने अन्योलमा रहेका आफूहरुलाई कुनै वैकल्पिक काम दिएर थोरै भए पनि आम्दानी गर्ने व्यवस्था मिलाइदिन मजदुरहरुले सरकारसँग आग्रह गरेका छन् ।उज्यालो अनलार्यन डटकमबाट