कोरोना त्रास : उच्च ज्वरो आएका भारतीय डाक्टरले नै पाएनन् अस्पतालमा भर्ना

लोकखबर
७ चैत्र २०७६, शुक्रबार १५:१६

मकवानपुर । छिमेकी भारतको महाराष्ट्र जलगाउँमा उच्च ज्वरो र श्वाससम्वन्धी समस्या देखिएपछि अस्पताल पुगेका एक डाक्टरलाई नै चार निजी अस्पतालले भर्ना लिन अस्वीकार गरेका छन्। ‘द वायर’ का अनुसार ती डाक्टरलाई कोरोना भाइरस भएको आशंकामा अस्पतालहरुले भर्ना लिन अस्वीकार गरेका हुन्।

निजी अस्पतालले भर्ना नलिएपछि उनी सरकारी मेडिकल कलेजमा भर्ना भएका छन्। एकपछि अर्को अस्पताल पुग्दा उनी शिथिल भएकाले हाल भेन्टिलेटरमा राखेर उपचार भईरहेको छ।

जिल्ला स्वास्थ्य अधिकारीका अनुसार कोरोना भाइरसको डरका कारण र जानकारीको अभावका कारण निजी अस्पतालले मिल्दो लक्षण देखिएका बिरामी भर्ना लिन अस्वीकार गरेका हुन्।

ज्वरोले पीडित डाक्टर न विदेशयात्रावाट फर्केका हुन्, न त कोरोना भाइरस संक्रमितको सम्पर्कमा पुगेका थिए। उनी अघिल्लो साता आफ्नो गृहनगर भुसावलदेखि कोल्हापुर फर्केका थिए। यहीबीचमा उनलाई तीव्र ज्वरो देखिएको थियो। बुधबार यही ज्वरोका कारण श्वासप्रश्वासमा समस्या देखिएपछि उनी अस्पताल भर्ना हुन चाहेका थिए। उनको पुरै परिवार अस्पताल भर्ना गराउन रातभर दौडधुप गरेका थिए।

‘हामीले पहिला उनलाई जनरल डाक्टर कहाँ लगेका थियौं तर उनी फेला नपरेपछि आईसीयूमा भर्ना गर्न खोजिएको थियो,’ पीडित डाक्टरका एक आफन्तले भने, ‘तर निजी अस्पतालले कोरोना भाइरस भएको हुन सक्ने र पुरै अस्पतालभरि संक्रमण फैलने भन्दै भर्ना लिन अस्वीकार गरे।’ यसपछि तीन अन्य अस्पतालबाट पनि यस्तै जवाफ पाएको ती आफन्तले बताए।

आफूहरुले डाक्टर विदेशवाट पनि नआएको र कुनै संक्रमित व्यक्तिको सम्पर्कमा पनि नरहेको बताउँदा पनि अस्पतालहरुले पत्यार नगरेको आफन्तको आरोप छ। परिवारको दौडधुपका बीच विहीबार सात बजे सरकारी मेडिकल कलेजमा भर्ना गरिएको उनले बताए। उनलाई भेन्टिलेटरको सपोर्टमा राखिएको भएपनि त्यहाँका डाक्टरहरुले पनि अन्तै लैजान आग्रह गरिरहेका छन्।

यसपछि उनीहरुले सामाजिक कार्यकर्तासँग सहयोग लिएका थिए। सामाजिक कार्यकर्ता प्रतिभा शिन्देले जिल्लाका कलेक्टरसँग सम्पर्क गरेपछि उनलाई भर्ना गर्न आदेश दिएको थियो ।

अस्पतालका डिन डा. भास्कर खैरले उपचार ढिलो हुँदा बिरामीको अवस्था जटिल भएको बताए।

अस्पतालले उनको ब्लड टेष्ट गरिसकेको छ, उनी विदेश नगएकाले कोरोना टेष्टको आवश्यकता नरहेको उनले बताए। अस्पताल रिपोर्टको पर्खाइमा रहेको तर उनको अवस्था अहिले पनि जटिल भएकाले भेन्टिलेटरमै राखिएको अस्पताल जनाएको छ।

भारतमा हालसम्म २०६ जना कोरोना भाइरस संक्रमित बिरामी भेटिएका छन् भने चार जनाको मृत्यु भएको छ। स्वास्थ्य खबर डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*